काठमाडौँ -चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकृत पनि संलग्न रहेको पाइएको छ ।
पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ लगायत ६ जनाको समूह नेपालमा व्यवसायरत एक चिनियाँ नागरिकको गतिविधिबारे जानकार थिए । सोही अनुसार उनीहरुले निरन्तर फलो गर्दा थाहा भयो उनको एक नेपाली दोभासे पनि थिए ।
दोभासेलाई धम्क्याएर उनीसम्म पुग्ने र अपहरण गरेर रकम कुम्ल्याउने योजनामा लागेका न्यायाधीशका पीएसोसहित ६ जनाको समूह प्रहरीको फन्दामा परेको छ।
प्रहरीले उनीहरुलाई राजधानीको गोंगबुबाट चिनियाँको अपहरण आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेमा पीएसओसहित अर्का एक प्रहरी पनि रहेका छन् । ती प्रहरीमा प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् ।
यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र विनोद केसी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीकाअनुसार ती चिनियाँ नागरिकबारे जानकार रहेका पीएसओसहितको टोलीले आफू प्रहरी नै भएको भन्दै हतकडी लगाएर अपहरण गरेको खुलेको छ।
बुधबार साँझ अपहरणमा परेका चिनियाँको रातिनै सकुशल उद्दार भएको छ भने अभियुक्तलाई म्याद लिनका लागि जिल्ला अदालत काठमाडौंमा बिहीबार उपस्थित गराइएको छ। अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।a
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९