काठमाडौँ -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो ।
पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।
तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।
अगस्ट १ तारिखमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो । यो पहिले पहिले पनि मूल्य घटेर आएको थियो। अघिल्लो पटक १५ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९