काठमाडौं । यु-२० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बङ्गलादेश र भारत विजयी भएका छन् ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बङ्गलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार तेस्रो जित दिलाउन बङ्गलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।
जितसँगै तीन खेलबाट ९ अङ्क जोडेको बङ्गलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अङ्क विहिन रहेको मालदिभ्स तालिकाको चौथो स्थानमा छ ।
यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलङ्कालाई ४-० ले पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलङ्का भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग १-० ले र दोस्रो खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो ।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई, हिमान्सु जान्ग्रा र गुरकिरत सिंहले समान एक गोल गरे । जितसँगै दुई खेलबाट तीन अङ्क जोडेको भारत तेस्रो स्थानमा छ । यसअघि भारत पहिलो खेलमा बङ्गलादेशसँग २-१ अन्तरले पराजित भएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९