काठमाडौं । बिमा रकम हत्याउनको लागि युवकसंग नक्कली बिहे गरेर हत्या गरेको पाइएको छ । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् ।
यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।
वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।
मृत्युपछि इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९