हेटौंडा । महिला सीप विकास केन्द्र, मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न तथा भ्रष्टाचार अन्त्य गर्न माग गर्दै १० दिने सडक अभियान संचालन गर्ने भएको छ । अभियानको सुरुवात हेटौडाबाट गरिने केन्द्रकी अध्यक्ष रीता खनालले जानकारी दिएकी छन्।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले देशभर गृहिणी शिक्षा लागु गर्न र पछिल्लो समयमा देशमा बढी रहेको बेथिति, भ्रष्टाचार, कुशासन विरुद्ध अभियान सञ्चालन गर्न लागिएको बताइन् ।
उनले आफुहरुले यसअघि,२०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान संचालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताउँदै पुनः संचालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खनालले जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्ने बताइन । अबको अभियान नागरिक तहसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ रहने बताउदै उनले देशको आर्थिक अवस्था श्रीलंका पथ तर्फ गईरहेको बताउँदै बेलैमा नागरिक समाज जाग्नुपर्ने बताईन् ।
‘हामीले देखिरहेका छौ,श्रीलंकाको अवस्था । आज त्यहाँका नागरिकहरु सडकमै उत्रिएर राजपक्षको सरकारलाई विस्थापित गर्यो । खनालले भनिन्,आज नेपालीहरु श्रीलंका बन्नुपर्ने हो कि ? रातारात सर्विया जस्तो १० औं लाख नेपालीहरु एकाएक बाहिरिनु पर्ने हो कि ?
त्यसैले श्रीलंका बनिसकेपछि पछाडी सडकमा उत्रिनु भन्दा श्रीलंका बन्नु भन्दा अगाडी किन नेपाली नागरिक नजाग्ने ? हामी नबोले कस्ले बोल्ने ? आहिले नबोले कहिले बोल्ने? भनेर तमाम नागरिकहरु आवाजलाई लिएर महिला सीप विकास सडकमा छ ।’
उनले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न लाग्दा समेत दलहरु सत्ताकै वरीपरी घुमेको आरोप लगाउँदै उनीहरुलाई जनता र देशको कुनै वास्ता नभएको टिप्पणी गरिन । नेतृ खनालले देशलाई श्रीलंका पथमा जान नदिन सबै एकजुट हुनुपर्ने बेला आएको बताईन ।
उनले देशको कार्यापालिका,न्यायपालिका,व्यवस्थापिका तीनै क्षेत्र भ्रष्ट्राचारमा लिप्त रहेको आरोप लगाईन् । उनले अभियान अन्तर्गत पहिलो चरणमा १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरेर गरिने बताईन् । साउन २१ गते सम्म जारी रहेन अभियानमा बजार,सडक,गाउँ,चोक चोकमा माईकिङ गर्ने,कोणसभा गर्ने,नागरिक समाजहरुसंग अन्तरक्रिया गर्ने र स्थानीयतहरुलाई ध्यानाकषर्ण पत्र दिने कार्यक्रम रहने अध्यक्ष खनालको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९