काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो ।
एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै सो ९ दिनको अवधिमा कर्जा रकम १७ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ९ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ ।
समग्रमा गत आर्थिक वर्षमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप सङ्कलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो ।२०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९