काठमाडौँ। भारतको प्रमुख प्रतिपक्ष दल भारतीय काँग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ ।
उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय काँग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पक्राउ पर्नु पूर्व राहुलले भारत हाल सैन्य नियन्त्रणमा भएको राष्ट्रको जस्तै रूपमा देखा परेको र नरेन्द्र मोदीले राजा जस्तो एकलौटी ढगंमा शासन गरिरहेको आरोप लगाएका थिए ।
राहुलको गिरफ्तारीलाई भारतीय काँग्रेसले आवाज दबाउने दुष्प्रयासको रूपमा व्याख्या गरेको छ । पक्राउ पर्नेमा राहुलबाहेक काँग्रेस नेता मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, शक्तिसिंह गोहिललगायतका नेताहरू पनि रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९