टोकियो । कामै नगरिरहेको रेस्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेस गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।
जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेस गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रणमा लिएको हो ।समाचारअनुसार भुजेल भिसा नवीकरणसम्बन्धी कागजपत्र तयार गर्ने व्यक्ति र अरु भिसा नवीकरण गर्नेहरु हुन् ।
भुजेलले अघिल्लो वर्ष मात्रै १०० जनाभन्दा बढीको यसरी नै झूटा कागजपत्र पेस गरी भिसा नवीकरणलगायतका काम गरेको समाचारमा उल्लेख गरिएको छ ।
उनले यो कार्य गरेबापत प्रतिव्यक्ति २ लाख लिने गरेको र यस्तै अवैध ढङ्गले २ करोडभन्दा बढी आम्दानी गरेको भन्दै दोहोरो छानबिन भइरहेको प्रहरीले जनाएको छ । फर्जी कागजपत्र पेस गरेको र कर छली गरेको विषयमा गहिरो छानबिन हुने समाचारमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९