काठमाडौँ - भारतमा आज देशको भावी राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि विभिन्न राज्यको संसद र विधानसभामा मतदान भइरहेको छ ।सो अवसरमा पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए ।
मतदान गर्दै गर्दा उनका जुन तस्बिर सार्वजनिक भएका छन्, त्यसमा उनी निकै कमजोर देखिएका छन् । ८९ वर्षीय मनमोहन सिंह ह्विलचेयरबाट संसद भवन पुगे र केही मानिसहरुको मद्दतले आफ्नो भोट हाले ।
भारतमा कथित आर्थिक सुधारको श्रेय डा. सिंहलाई दिइन्छ । उनी लगातार १० वर्षसम्म भारतका प्रधानमन्त्री पनि रहे । मनमोहन सिंहको यो ताजा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । मानिसहरु उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९