काठमाडौँ । काभ्रे जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।
पनौती नगरपालिका-५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ । उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए।
यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो ।
पाँचखालमा भेटिएका सङ्क्रमितको काठमाडौँमा उपचार भइरहेको छ । लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९