काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ।
आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्।
बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूले आफ्ना भनाइहरू राखेको पनि ती सांसदले बताए।
फुटेजका लागि ताकेता गरे पनि प्राप्त नभएको भन्दै उनले समितिको आगामी काम फुटेज प्राप्त गर्नमै केन्द्रित हुने बताए।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आइतबार छलफल गरेको हो। यसैबीच समितिले शनिबारबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९