काठमाडौँ -अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको झडपका क्रममा जेठ २१ गते शव भेटियो। परिवार र आफन्तले कांग्रेस र उनका समर्थकले हत्या गरेको आरोप लगाउदै अपराधी बिरुद्ध जाहेरी समेत दिएका छन् । जाहेरी परेका मध्ये ५ जना पक्राउ परेपनि ८ जना अझै फरार छन्। बैशाख ३० गतेको निर्वाचनबाट शुरु भएको मतभेतले एक किशोरको ज्यान लिएर छोड्यो।
मृतकका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझे पनि पिडित पक्षले अझै न्याय नपाएको गुनासो छ। शुरुमा प्रहरीले हत्यालाई ढाकछोप गर्न लागिपरेको आरोप पिडित पक्षले लगाएका थिए र अहिले पनि लगाउदै आएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १३ जनाको नाममा किटानी जाहेरी दिएका छन् । सोधपुछका लागि भन्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको तर वाकी अझै फरार रहेकोले न्याय पाउने आसा मरिसकेको परिवारको गुनासो छ ।
यसै बिषयमा,यहि हत्याको छानबिनको माग गर्दै विभिन्न तह र तप्कामा पुगेर आवाज उठाउने नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य कमल रावलसंग आजको न्युज डट कमले गरेको कुराकानीको केहि अंश :
अछामको किशोर मृत्युको प्रकरणलाई कसरि हेर्नुहुन्छ ?
यो सार्है दुखद घटना थियो अछाम बासीका लागि र पुरै देशको लागि। राजनतिक प्रतिसोधका कारण एक अबोध किशोरको हत्या गरिनु र हत्यालाई दबाउन खोजिनु न्यायालय माथिको प्रहार हो । कुनै पनि राजनीतिक पार्टीको सदस्य समेत नभएको एक किशोर पारिवारिक राजनीतिक कलहको सिकार बन्न पुगेको हो। परिवारका अन्य आफन्त र आफ्नै दाइ एमालेको सक्रिय राजनीतिमा रहेका र उही परिवारको भएको कारणले रिसिबी साध्न यो घटना भएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो। अनि अर्को कुरा बिनोद शाहीलाई मात्र हैन त्यो बेला एमालेसंग सम्बन्ध भएका र बिश्वास गर्ने जो कोहीलाई पनि मार्ने कांग्रेसको रणनीति थियो भन्ने पनि सुनिएको थियो । जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिबाट बेपत्ता भएका बिनोद जेठ २१ गते नजिकैको कुच्ची भिरको ५०० मिटर तल खोँचमा मृत भेटिएका थिए ।
घटनाको सुरुवात कसरि भएको थियो र के कारणले यो घटना हुन पुग्यो ?
बैशाख ३० गतेको चुनावमा देखिएको विवाद नै घटनाको मुख्य जड हो । मतदान प्रक्रियामा कांग्रेसले अनियमितता गर्न खोजेपछि एमाले लगायतका साथीहरु बाट बिरोध भएको थियो। अनियमितता गर्न नहुने भन्ने नै हाम्रो अडान थियो तर त्यसैलाई ठुलो बिषय बनाएर विवाद बढाउदा यो घटना हुन पुग्यो। बिनोद जुन ठाउतिर गैरहेका थिए त्यहि ठाउतिर बाट नै उनको लास भेटिएको थियो । स्थानीय महिलाहरुले विनोदलाई गाउबाट माथितिर उकालो लागेको देखेका थिए । उनको पछि पछि कांग्रेस कार्यकर्तापनि गएको स्थानीयले बताएका छन् । यसरि हेर्दापनि घटना उनीहरुबाट नै भएको पुष्टि हुन जान्छ । जाहेरी परेकाहरुले अनुसन्धानमा सहयोग गरिदिए सत्य छिट्टै बाहिर आउथ्यो र पिडित पक्षपनि यहि चाहन्छन ।
बैशाख ३० गते चुनाव थियो अनि जेठ २१ गते किशोरको शव भेटियो, यति लामो समयसम्म बिबाद चलिरहँदा अन्त्य गर्न केहि पहल गरिएन ?
हामीले हाम्रो ठाउबाट पहल नगरेको हैन तर प्रहरी प्रशासन नै सबै मिलेर विवादलै अझ बढावा दिएको देखिन्छ। हामीले मतदानमा भएको अनियमिततालाइ लिएर छानविन गर्नुपर्छ भनिरहेका थियौ तर सम्बन्धित पक्षबाट उचित जवाफ नपाउदा विवाद अन्त्य हुने कुनै बिकल्प भेटिएको थिएन अन्त्यमा जे नहुनु थियो त्यहि भयो ।
चुनावमा अनियमितता बाहेक अरु कुनै कारण पनि थियो कि ?
अरु कुनै कारण थिएन । जसरि हुन्छ एमालेलाई हराउनुपर्छ भन्ने मानसिकता कांग्रेस लगायतलाई थियो । जुनसुकै हालतमा चुनाव जित्ने मनस्थिति बनाएकाहरुले धाधली गरेरै भएपनि जिते। हामीले धाधलीको बिरोध मात्र गरेका थियौ उनीहरुले शक्ति प्रयोग गरे ।
चुनावमा हारेपछि धाधली भयो भनेको पनि हुन सक्छ नि हैन र ?
चुनावमा हारजित स्वाभाविक हो तर जनतासंग डराएर,उनीहरुको भोटको अपमान गरेर जित्न हुदैन भन्ने हाम्रो मान्यता हो । त्यो जित बास्तवमा जित पनि हैन ।
अहिले यो घटना बारेमा पछिल्लो अपडेट के छ ?
बिनोद शाहीको मृत्युपछि घटनामा संलग्न रहेकाबिरुद्ध पीडित पक्षले जाहेरी दिएका थिए । १३ जनालाई पक्राउ आदेश पनि आएको थियो प्रशासनबाट,५ जना पक्राउ परे भने नगरपालिकाको निर्बाचित मेयर सहित अन्य अहिले पनि फरार रहेका छन् । न्यायको लागि मानव अधिकार आयोग देखि लिएर अन्य संघ सस्थामा समेत आवाज पुर्याईरहेका छौ। आसा गरौ न्याय पाइन्छ ।
पिडित पक्ष के भन्छन ?
पिडित पक्षले राजनीतिक प्रतिशोध पुरा गर्नकै लागि हत्या गरेको हो भन्ने सोचिरहेको छ । १७ जेठमा निर्वाचनकै विषयलाई लिएर दिउँसो एमाले र कांग्रेसका कार्यकर्ताबीच फेरि कुटाकुट भएको थियो । सोही आवेग पोख्न १७ जेठको राति ९ बजेपछि कांग्रेसका कार्यकर्ता मृतक विनोद शाहीको गाउँमा पसेका थिए ।बिनोद शाही मात्र नभएर अरु जो कोहि भएपनि मार्ने योजना रहेको बुझिन्छ । बिनोदसंग पारिवारिक कारणले पनि हत्या भएको हुन सक्छ । बिनोदलाइ नै मार्ने भन्दापनि जो भेट्यो त्यसैले मार्ने अवस्थामा थिए हत्याराहरु ।
अबको माग के हो तपाईहरुको ?
पिडित पक्षले राखेको माग भनेको नै हत्यारालाई कारवाही होस् भन्ने हो । हामी पनि पिडित पक्षको माग पुरा हुनुपर्छ भन्ने चाहन्छौं। किटानी जाहेरी परिसकेकाहरु अहिले पनि खुल्लम खुल्ला हिडेका छन् । फरार सूचीमा छन् भनेर प्रहरीले नै उनीहरुलाई बचाइरहेको त छैन भन्ने संका पिडित पक्षलाई छ । पिडित परिवारहरु प्रहरी प्रशासन प्रति निरास छन् । न्याय पाइन्छ कि पाइदैन भन्ने अवस्थामा रहेका उनीहरु विभिन्न संघ सस्था देखि आयोग सम्म भौतारीरहेका छन् । जुन सुकै हालतमा बिनोद शाहीको हत्याराले सजाय पाउनुपर्यो । जो-जो माथि संका लागेर जाहेरी दिईएको छ उनीहरुले पनि अनुसन्धानमा सहयोग गरिदिनु पर्यो ।
विवाद अन्त्य गर्न प्रहरी प्रशासनमात्र कुरेर बस्नुभएछ तपाईहरु,तपाइको पार्टीले विवाद अन्त्य गर्नुपर्छ भनेर केहि पहल गरेन त ?
पहल नगरेका हैनौ गरेको हो तर यो विवाद समुदायमा फैलिएको भएर पार्टीको ध्यान त्यति नपुगेको पनि हुन सक्छ। यति ठुलो घटना गराउला यो बिबादले भन्ने लागेकै थिएन । सुर्यमा भोट किन हालेको भन्दै कांग्रेस कार्यकर्ताले धम्कि दिएको भन्ने त सुनिएको थियो,राजनीतिमा यस्तो सामान्य हो भन्ने लगेर पनि हुन सक्छ कसैले गम्भीर रुपमा नलिएको। हामी त यस्तो विवाद गर्नु हुदैन भन्ने पक्षमा थियौ तर जित्नेहरुमा घमण्ड भरिएको कारण यस्तो हुन गयो ।
घटनालाई तपाईहरुले पनि राजनैतिक फाइदाको रुपमा त लिईरहनु भएको छैन ?
हरेक घटनालाई राजनीतिक फाइदा र घाटाको रुपमा लिन सकिदैन । एमालेको कार्यकर्तापनि नभएको र मतपत्रमा नाम समेत नभएको मान्छे हो बिनोद। हामी यसलाई राजनीतिक फाइदाको रुपमा कसरि लिन सक्छौं ? हामीले बिनोद शाहीको न्यायको लागि मात्र आवाज उठाएका हौँ । यस्तो अपराधलाई राजनीतिसंग जोड्नु हुदैन र जोड्ने बिषय पनि हैन ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जसरि हुन्छ जाहेरी परेकाहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्यानुपर्यो । मृतक र उसको परिवारले न्याय पाउनुपर्यो । घटनालाई दवाउन,लुकाउन अहिले पनि विभिन्न प्रपन्चहरु भैरहेका छन् । गृहमन्त्री र महान्याधिबक्ता स्वयम्ले पनि यो घटनालाई यहि रफादफा गर्नुपर्छ भनेर डिल गर्दैछन् भन्ने पनि सुन्नमा आएको छ । हामी यसको घोर बिरोध गर्छौ। कुनैपनि हालतमा हामी मृतक शाही र उसको परिवारलाई न्याय दिलाएर छाड्छौं ।
धन्यवाद !
यसरी भएको थियो घटना
३० वैशाखमा स्थानीय तहको निर्वाचन भइरहेका वेला पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिका स्वास्थ्य चौकी मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले स्वस्थ मानिसलाई समेत च्यापेर बुथ केन्द्रमा लगेर कांग्रेसमा भोट हाल्न लगाएको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।
विरोधपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । तर, केही समयको झडप पछि सो मतदान केन्द्रमा सहमतिपछि मतदान भयो । मतगणना सकिएर विजयी उम्मेदवारले विजयी जुलुससमेत निकालेका थिए । त्यति बेलासम्म सामान्य रहेको सो वडाको स्थिति १७ जेठमा फेरि असामान्य बन्यो ।
१७ जेठमा निर्वाचनकै विषयलाई लिएर दिउँसो एमाले र कांग्रेसका कार्यकर्ताबीच फेरि कुटाकुट भएको थियो । एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई दिउँसो कुटपिट गरेका थिए । सोही आवेग पोख्न १७ जेठको राति ९ बजेपछि कांग्रेसका कार्यकर्ता मृतक विनोद शाहीको गाउँमा पसेका थिए ।
विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको मृतकका दाजु बखतबहादुर शाहीले बताए।
जेठ १६ र १७ गतेको दोहोरो झडपलाई लिएर मृतक विनोदसहित एमाले र समाजवादीनिकट युवाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित कांग्रेस नेताहरू जेठ १८ गतेदेखि नै पटक-पटक जिल्ला प्रशासन कार्यालय पुगेको पीडित पक्षको दाबी छ। तर, २१ गते विनोदको शव भेटिएपछि भने मेयर चलाउनेसहित आठजना फरार छन्। पीडित पक्षले मेयर चलाउने र जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाहीसहितका १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरेपछि उनीहरू फरार रहेकाे प्रहरीले बताएको छ।
फरार रहेका मेयर चलाउने र जिल्ला समन्वय समितिकी उपप्रमुख शाही तथा वडा नम्बर ४ का पूर्ववडाध्यक्ष सर्जन शाहीसहित वडा नम्बर ४ कै नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, कर्णबहादुर शाही र अक्कल शाहीको खोजी भइरहेको छ ।
विनोदको हत्यामा संलग्नलाई प्रहरीले नै संरक्षण गरेर राखेको र पक्राउ नगरेर बहाना गरिरहेको उनीहरूको आरोप छ। माथिल्लो निकायबाटै दबाब भइरहेकाले पनि प्रहरी यो घटनालाई दबाउन खोजिरहेको पीडित पक्षको बुझाइ छ। (घटनाको विवरण -विभिन्न अनलाइनको सहयोगमा बनाइएको हो)
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९