काठमाडौं । सेयर बजार सुधारको माग राख्दै आन्दोलनरत लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । पत्रकार सम्मेलन गर्दै कोईरालाले आफ्ना १९ बुँदे माग पुरा नभएसम्म आमरण अनसन गरिरहने घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले शान्तिपूर्ण आन्दोलनबाट आफूहरूका माग सरकारले नसुनेको भन्दै आमरण अनसन बस्न लागेको बताए । पुँजीबजार सुधार गर्न सरकारले ध्यान नदिँदा यो क्षेत्र नै धराशायी भएको भन्दै निर्णायक आन्दोलन गर्न लागिएको उनको भनाइ छ ।
लगानीकर्ता कोइरालाले आफूहरूको आन्दोलन बजार बढाउन र घटाउनका लागि नभएर बजारको सही पूर्वाधार र नियमनका लागि भएको बताए । सरकारले तीन वर्षदेखि पुँजीबजार सुधारका लागि केही पनि गर्न नसकेकाले बाध्य भएर आमरण अनसन बस्ने निर्णय गरिएको उनको भनाइ छ ।.
मंगलबार बसेको लगानीकर्ताहरूको संयुक्त बैठकले पनि कोइरालालाई आमरण अनसनमा बस्न सहयोग गर्ने निर्णय गरेको थियो ।
पूँजी बजार सँग सम्बन्धित संघ संघठनले पनि कोईरालाको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन् । लगानीकर्ताको संघ संघठनले नेपालको पूँजी बजारमा गर्नु पर्ने सुधारका कामहरु, सरकारले गर्छु भनेका कामहरुमा समयमा सुधान नहुने संका गर्दै उनिहरुले आन्दोलनको अन्तिम अस्त्र प्रयोग गर्न बाध्य भएको जनाएका छन् ।
पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सार्वजनिक गरेको १९ बुँदे माग तत्काल पुरा गराउन २०७९ साल असार एक गतेदेखि विहान ११ बजेबाट आमरण अनसन सुरु गरेका छन्। तिकल कोइरालाको घोषणालाई सबै लगानीकर्ता संघ संघठन मार्फत सर्वसम्मत रुपमा संयुक्त बोध गर्दै त्यसका लागि आवस्यक सम्पुर्ण प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
आमरण अनसनको सम्पुर्ण निर्णय गर्ने अधिकार संयोजक तिलक कोइरालालाई नै दिने निर्णय समेत गरिएको छ । उनले आवस्यक परे वार्ता समिति गठन गर्ने र सोको हस्ताक्षर पनि उनैले गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
अनसनकै क्रममा संयोजक कोइराला सहित सल्लाहकार नवराज उप्रेती पक्राउ समेत परेका थिए । पटक पटक दवाव दिंदापनि सम्बन्धित निकायले वास्ता नगरेपछि अनसन सुरु गरिएको सल्लाहकार नवराज उप्रेतीले बताए।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९