काठमाडौँ । गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाईंकुण्ड यात्रा सुरु भएको छ। मङ्गलवार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।
ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाईंकुण्ड पुग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्ड तीर्थमा एक पटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहेको छ।
यो पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवनका भक्तजन गोसाईंकुण्ड पुग्ने स्थानीय समाजसेवी टङ्कप्रसाद आर्चायले बताए। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले धार्मिक यात्राको सुरक्षाका लागि व्यवस्था मिलाएको जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९