काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।
उनले तारा -एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् ।पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधा घण्टादेखि सम्पर्कविहीन भएको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो । १०ः३५ सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।
विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९