काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।
तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् । प्रहरीमा आइजिपीका लागि विश्वराज पोखरेल, सहकुल थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक दाबेदार थिए ।
२०७७ मङ्सिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए । उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए । त्यस्तै गत चैतमा धिरज प्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९