जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।
रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेसनमा रेलको उद्घाटन हुनेछ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठुलो स्क्रिन जडान गरिनेछ ।
रेलको उद्घाटन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आज (शुक्रबार) जनकपुरधाम रेल्वे स्टेसनको अनुगमन गरेकी छन् । उनले उद्घाटनको तयारी भव्य रुपमा गर्न निर्देशन दिएकी छन् ।
रेल चढ्न परिचय पत्र अनिवार्य
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।
दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ ।
नेपाली नागरिकलाई नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्नेछ ।
भारतीय नागरिकलाई पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाले बताए ।
१० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८