काठमाडौँ । काठमाडौँको धोबी खोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ ।काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबी खोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए ।
उक्त शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रवक्ता मैनालीले बताए । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८