काठमाडौँ -अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य २०७८ चैत्र ८ गते बिमोचन भएको छ। वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले उक्त कृति विमोचन गरेका हुन् l
महाकाव्य लोकार्पण गर्दै इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो,विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको कुरा शताव्दी पुरुष सत्यमोहन जोशीले वताए l अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको व्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोहको सभापतित्व सो समूहकी नेपाल च्याप्टर अध्यक्ष साहित्यकार सन्ध्या पहाडी गरेकी थिइन् l
वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल. प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिंदै समालोचकीय मन्तव्य व्यक्त गरेका थिए l अनेसासकी उपाध्यक्ष गीता कार्कीले संचालन गरेको कार्यक्रममा अनेसासकी अर्की उपाधयक्ष गीता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् l
ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाल लगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान गराएका थिए l कार्यक्रममा लोकदोहोरि प्रतिष्ठानका पुर्व अध्यक्षद्वय दुर्गा रायमाझी,चन्द्र शर्मा,संबिधानबिद भीमार्जुन आचार्य,बिश्वबिद्यालयका प्राध्यापकहरु, एमफिल- पिएच.डी. लेवलका शोधार्थी साहित्यप्रेमी सहित सर्वसाधारणको समुपस्थितिमा विमोचन कार्यक्रम भव्य र सुसंगत बनेको थियो l
महाकाव्यकार डाक्टर आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूतिराखेका थिए l पूर्वीय साहित्यमा गहनता राख्ने आचार्यले थारु संस्कृतिको धरोहरलाई समातेर यो महाकाव्य तयार पारेका हुन्।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८