काठमाडौँ । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने सङ्केत देखिएको छ ।
विधान सभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी ८८ सिटमा अघि छ । यही अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।
आम आदमी सन् २०१७ मा भएको विधान सभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । काँग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।
भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रिय छन् ।
विधान सभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदमी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए । सर्वेक्षणहरूमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो ।
विधान सभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरू अगाडि छन् ।भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधान सभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८