कविता :आँसुको तर्पण
जन्मन्छन प्राणी सारा यहि धर्तीमा हर्ष उल्लास गर्दै
हुर्कन्छन सब दिन क्रम सहजै भीर-पत्थर फोड्दै
आर्जन्छन ज्ञान सीप,धन सुयोगले दश नंग्री खियाई
छोड्छन किन्तु शरीर यहि धरतीमा प्रियजन सब रुवाई।१।
सालै नब्बे र दुइको शुभ मुहुर्त त्यो पंचमी श्रावणान्त
पाई पुत्री उज्याली घर उजिलियो तृप्तिए दण्ड-नन्द
शृष्टि अर्को भएको नव धरतीमा सृष्टि धान्न अनन्त
रमे गृहस्थी आफै पुलकित भए पाई नौलो बसन्त ।२।
दिदि मेरी ती दोस्री हँसी-मुखी रसिली नाम राखेको गंगा
गोरी-मोटी बोलाकी बचपन अरे चुल्बुलाएको चंगा
बाँड्ने -चुँड्ने र हाँस्ने सरल दिलकी साथी संगी समाज
खोस्ने-,ठग्ने र धुत्ने प्रबित्ति छ अहिले दुखि हुन्छु म आज ।३।
पढ्नु,लेख्नु र जान्नु बिमुख समयमा तिमी जन्मेकी छोरी
बोल्नु,हाँसु र देख्नु सीमित गतीले तिमी जन्मेकी मोरी
मान्नै पर्ने असम रीत सब तिमी जन्मेकी छोरी
भिर्थ्यौ बाला र कल्ली नेलसरिको हाय ! जन्मेकी छोरी।४।
बर्षौ सातौ पुगेर जब गुटमुटियौ भित्र गुन्यु र चोली
आठौ बर्षकी बाला पर घर भयौ बाजा पन्चे र डोली
गाउँ पण्डितको त्यो लिगलिग कहाने देवकोटा थरैमा
रम्यौ रमेश पाई वरसुयोगको बस्यौ उनकै घरमा ।५।
गर्थौ माइत-घर फुर फुर दिलले हांसी चम्किली तारा
दानी दयालु थ्यौ प्रियजन सबको हुन्न कोहि पराया
गाउँथ्यौ लोक भाका श्लोक रचायी गाउँ बेसी समाज
तिम्रो बाणी मृदुल महमयी गुम्न गइ गो लौ आज ।६।
गृहस्थीमा अति सफल थ्यौ जन्मी प्रभाती प्रभा
मातृत्वकी जननी तिमी थ्यौ पुत्र चारकी रम्भा
नारित्वकी कुशल नमुना खाइनौ क्यै हरेश
तिम्रो मृत्यु सहज अपितु दुखि बन्छन रमेश ।७।
दिदि तिम्रा सहस्र गुणका पाठ सधै गुनुंला
भिनाजुको विदीर्ण मनको भक्कानो म सुनुला
मृत्यु गाथा लेखु म कसरी छेक्छ आँसुले दृष्टि
बुझ्दै पर्ने प्रकृति बरदान जन्म,मृत्यु र शृष्टि ।८।
माया गर्थ्यौ अति दिल ठुली भाई साइलो भनेर
बाँचुला क्यै दिन यदि भए छाँया केहि दिन गनेर
तिम्रो आत्मा इशलीन हवस् किर्ती तिम्रो छ दर्पण
बार्षिकीको दुखद दिन यो आँसुले दिन्छ तर्पण ।९।
"छन्दमा मन्द छ वृद्धि,शुद्धि खोज्दछ रगरग
भिनाजु छन्दको राजा,अवश्य हुन्छ सगसग
होइन यो बुद्धिको काव्य,छैन सृंगारिकी जल
दिदीको ममता गर्ने,हरिको आँशुको भल "।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८