‘कन्ट्रोभर्सी क्विन’ भनेर चिनिने सुष्मा कार्की एकपटक फेरि लभ लाइफका कारण मिडियामा चर्चाको पात्र बनेकी छन् । निर्देशकदेखि गायकसम्मको प्रेममा डुबिसकेकी सुष्मा केही समयदेखि मिस्टर नेपालका विजेताको प्रेममा छिन् । तीन दिन अगाडि उनले आफ्नोे इन्स्टाग्राममा प्रेमीसँगको एक तस्विर शेयर गर्दै ‘माया सधैं हामीसँगै रहिरहोस्। यो सबै कुराको उत्तर पनि हो’ भनेर लेखेकी थिइन् । उनका नयाँ प्रेमी २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझी हुन् । हाल उनी ‘जिम ट्रेनर’ रहेको बताइएको छ ।
शनिवार राजधानीको पाँचतारे होटल सोल्टीमा भएको ‘नेपाल मिडिया अवार्ड’ मा उनी प्रेमी रायमाझीकै साथमा पुगेकी थिइन् । नयाँ प्रेमीलाई लिएर उनी पहिलो सार्वजनिक कार्यक्रममा देखिएकाले मिडियाका क्यामेराहरुले यो जोडीको छायाँ पनि पछ्याएको थियो । अवार्ड कार्यक्रममा प्रस्तुती दिनका लागि सुष्मा होटलको एक कोठामा तयार हुँदै गर्दा प्रेमीले भने उनको पहरेदारी गरेका थिए ।
विगत लामो समयदेखि सुष्माको हातमा फिल्म छैन । कोभिडअघि देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुतीका लागि उनलाई बेला बखतमा प्रस्ताव आउने गरेका थिए । तर, कोरोनाले गर्दा उनी घरमै सीमित हुनु परेको छ । ‘विन्दास, चलेछ बतास सुस्तरी, के यो माया हो, बाउन्स, सकस, संजोग, साली कस्को भेना’ को लगायतको फिल्ममा उनले अभिनय गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८