टोकियो । जापानमा सम्पन्न इन्टरनेशनल ल मुटकोर्ट कम्पिटिसन एशिया कप २०१७ मा नेपाल ल क्याम्पसकी लज्जु श्रेष्ठ र हसिना लामिछानेले द्वितीय उपविजेताको उपाधि जितेकी छिन । उनीहरु दुवै बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत छन । सो प्रतियोगितामा एशियन मुलुकका ३३ समूहले प्रतिस्पर्धा गरे पनि प्रत्येक देशबाट एउटा समूहले सहभागिता जनाउन पाउने व्यवस्था अनुसार ११ देशका १२ समुह सहभागी भएको जनाइएको छ । जापान आयोजक देश भएकाले दुई समूहले सहभागिता जनाएको थियो । सो प्रतियोगितामा समूहगत सहभागिता मात्र गर्न पाइन्छ । सो प्रतियोगितामा एशियन मुलुकका स्नातक अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछ । प्रतियोगितामा नेपाल, जापान, चाइना, मलेसिया, सिंगापुर, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, इन्डिया, पाकिस्तान र थाइल्याण्डको सहभागिता थियो ।
सो अवार्ड प्रतियोगिता द्वितीय उपविजेतामध्येकी लज्जु श्रेष्ठका अनुसार, प्रतियोगितामा अन्तर्राष्ट्रिय समुद्री कानुन सम्बन्धी काल्पनिक केसमा मूलकोर्ट तयार पारी प्रस्तुति गरिएको थियो । जापानको परराष्ट्र मन्त्रालय र जापनिज सोसाइटी अफ इन्टरनेशनल ल को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालबाट हसिना लामिछाने र लज्जु श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन । भदौको ६ र ७ गते सम्पन्न सो प्रतियोगितामा सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुर विजेता बनेको थियो । त्यस्तै प्रथम उपविजेताको उपाधि थाइल्याण्डको दम्मास्ट युनिभर्सिटीले प्राप्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४