काठमाडौँ - नेपाली कांग्रेस आफ्नो १४ औ महाधिबेशनको पूर्वसन्ध्यामा छ । कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी मात्रै होइन नेपालको राजनीतिमा यसको सुनौलो इतिहास पनि रहेको छ । जहानियाँ राणा शासनको दासताबाट पिल्सिएका नेपाली जनतालाई मुक्ति दिलाउने उदेश्यले स्थापना भएको नेपाली कांग्रेस त्यसयता नेपालको राजनीतिक इतिहासमा भएका सबै खाले आन्दोलनको नेतृत्वदायी भूमिकामा रह्यो । नेपाली कांग्रेसको नेतृत्वमा खाली आन्दोलन र क्रान्तिले मात्रै सफलता पाएन बिद्रोहको शान्तिपूर्ण रुपान्तण गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले लिएको छ । जनताको स्वतन्त्रता र मुक्तिका लागि भनेर अग्रजहरुले स्थापना गरेको नेपाली कांग्रेस आज लक्षित उदेश्य र ध्येय भन्दा बाहिर गइरहेको छ । हुन त राजनीति भनेकै आफु जलेर अरुलाई उज्यालो दिने काम हो । यहाँ आफ्नो र आफ्नाहरुको सम्बृद्धि भन्दा बृहत्तर जनताको सम्बृद्धिको लक्ष्य राखिन्छ । आफ्नो व्यक्तिगत खुशीलाई सम्झौता गर्दै अरुको खुशीयालीका लागि संघर्ष गर्ने काम राजनीति हो ।
बहुसंख्यक जनताको हितका लागि आफुलाई त्याग तपस्याको रापमा जलाउनु पर्ने भएकै कारणले राजनीतिलाई सबै नीतिको मुल नीति भनिएको हो । बिपी कोइरालाको आदर्श, गणेशमानको त्याग र कृष्णप्रसाद भट्टराईको निष्ठालाई मात्रै हेर्यौ भने राजनीतिको उदेश्य के हो भन्ने सजिलै बुझ्न सकिन्छ । नेपालको राजनीतिमा युगौ सम्म बाचिरहने हाम्रा अग्रजहरुले देखाएको बाटो नेपाली काग्रेसले आज बिराएको छ । हाम्रा अग्रजहरुले देखाएको राजनीतिको मापदण्ड र आर्दशलाई आज कांग्रेसका नेताहरुले यसरी भत्काएका छन कि, थाहा छैन फेरि जोड्न मिल्छ कि मिल्दैन । आम जनताको आर्थिक रुपान्तरण र देशको सम्बृद्धिको राजनीतिको परिभाषा आज बदलिएको छ । त्यो त्याग र निष्ठालाई फेरि टाल्न नसक्ने गरि धुजा धुजा बनाइएको छ ।
आज कांग्रेसको मात्रै होइन नेपाली राजनीतिको अगुवा बन्नका लागि आर्दश र मुल्य मान्यताहरु बिर्सनुपर्छ । त्याग,तपस्या र निष्ठालाई पिठयु फर्काउनु पर्छ । त्यस्ता बिषयहरु आज बोल्न पाइन्छ, सम्झिन पाइन्छ तर अम्मल गर्न पर्दैन । आज कांग्रेसको मात्रै होइन समग्र राजनीति यति बिकृत भएको छ कि राजनीतिलाई व्यक्तिगत स्वार्थपुर्तिको साधन बनाइएको छ । राजनीति मुठ्ठीभर व्यापारी, ठेकेदार, दलाल मात्रै होइन अबैध कारोवारीको हातमा पुगेको छ । आज कांग्रेसको अगुवा बन्नका लागि गर्न मिल्ने नमिल्ने सबै काम गर्न सक्नुपर्छ । सके कालोबजारी गरि व्यापारीको ट्याग झुण्डयाएको हुनुपर्यो, त्यो पनि नसके ठेक्का पट्टाको माहिर खेलाडी हुनुपर्यो अझ राज्यको प्रकृतिक श्रोत साधानलाई कब्जामा लिदै व्यक्तिगत उन्नती सम्बृद्धिका लागि अबैध क्रसर उधोगी हुने हो भने त झन छिट्टै फड्को मार्न पाइन्छ । ठेकेदार पनि काम गर्ने होइन, बस मिलेमतोबाट ठेक्का पार्ने राज्यको सम्पतीमाथी ब्रम्हलुट मच्चाउने अनि राज्यको बाटो या पुल बनोस या नवनोस तर आफ्नो गगनचुम्भवी महल चाहीँ बन्नुपर्छ । लुटको धन फुपुको श्राद्धजस्तो गरि लुटेको धनको सहयोगले माथी सेटिङ मिलाउने र तल बाडचुड गरेर सजिलै नेता बन्न पाइन्छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका बिभिन्न स्तरका अधिवेशन भइरहेका छन् । ती अधिवेशनमा देखिरहेका दृश्यहरुले हाम्रा अग्रजहरुको आर्दशलाई थप्पड हानिरहेको मात्रै छैन उनीहरुले देखाएको निष्ठाको बाटोमाथी अवरोध सिर्जना गरिएको छ । आज कांग्रेसको नेता बन्नका लागि धन आर्जन गरेको हुनुपर्यो भलै त्यसको श्रोत अबैधनै किन नहोस । हिजो कांग्रेसको या कुनैपनि राजनीतिको अगुवा नेता बन्नका लागि सामाजिक काम कति गर्यो, कति बाटो बनाउन सहयोग गर्यो कति बिद्यालय बनाउन नेतृतव लियो त्यो बिषयले प्रथामिकता पाउने गर्थ्यो । आज त्यो केहि चाहिदैन बस आज कस्को घर ठुलो छ कसले बिगाहाका बिगाहा जग्गा प्लट गरिरहेको छ कसले राज्यको बिकासमा प्रयोग हुनुपर्ने प्रकृतिक श्रोतसाधानको बेहिसाव दोहन गरिरहेको छ त्यो नै नेता हुन योग्य हुन्छ । जनता र राज्यको बिकास होस या नहोस बस आफने बिकास भएको छ भने त्यो नेता बन्न सक्छ । जनताको सम्बृद्धि होस या नहोस त्यसमा सोचेर समय बर्बाद गर्ने होइन बस गर्न मिल्ने नमिल्ने सबै गरेर धन थुपार सोही धनको सहयोगले माथी मिलाउ तल किन बस नेता सजिलै भइहालिन्छ ।
राजनीतिको यस्तो घिनलाग्दो व्यापारमा संलग्न हुन नसक्नेहरु धेरै जसो यसअघिनै यसबाट किनारा लागिसकेका छन, बाकिरहेकाहरु पनि कोही त्यस्तै राजनीतिका कारोवारीसंग तुमसरणम गरि आफुलाई जोगाइरहेका छन भने अन्य बाकिहरु चाही धेरै छिटो किनारा लाग्नेछन । धनवल र डलबलको यो रौद्ररुप कांग्रेसका अधिवेशनहरुमा आफ्नै आखा अगाडी देखिएका कारण सहन नसकि कांग्रेसका लाखौ लाख निष्ठावान नेता कार्यकर्ता जसको स्वर आज मलिन बनेको छ जसलाई आज जवरजस्त किनारा पारिदैछ उनीहरुलाई साँझा गर्ने प्रयास गरिरहेकी छु । काग्रेसका अग्रज नेताहरुले देखाएको आदर्श र निष्ठाबाट प्रभावित भएर संलग्न मेरा लागि आफनै आखा अगाडी कांग्रेस बिग्रिएको, बदनाम भएको देख्दा असैय भएर सचेत गराउने अभियान स्वरुप यी हरफहरु लेखिरहेको छु । निष्ठावान कार्यकर्ताहरु यदि आज पनि तपाईहरुले भूमिका खेल्नु भएन भने हामीसँग कांग्रेसको साइनवोर्ड र चारतरो झण्डा बाहेक केही रहनेछैन । पार्टीले सत्ता चलाउला केही केही कारोवारी सत्ताको चास्नीमा डुब्लान । उनीरुले सत्तामा पुगेर आफ्नो र आफ्नाहरुको जिवनमा परिवर्तन ल्याउलान तर त्यसले जनता र यो देशलाई केही पनि दिने छैन । त्यस्तो बेला कांग्रेस रहनु र नरहनुको के अर्थ हुन्छ र ?
तपाईहरुको अमुल्य भोटलाई राजनीतीका व्यापारीहरुको नोट छाप्ने लाइसन्स बनाइरहेको आफ्नै आखा अगाडी कसरी टुलु टुलु हेरिबस्न सकिरहनु भएको छ । यदि तपाईहरु यसैगरि मौन भइरहने हो भने काग्रेसको अस्तीत्व, उदेश्य र लक्ष्य हेर्दा हेर्दै मटियामेट हुनेछ । आफ्नो भोटलाई केही रकममा बिक्रि गरेर आफ्नो आर्दशलाई लिलाम नगर्न म कांग्रेसका लाखौ कार्यकर्ताहरुलाई बिनम्र आग्रह गर्दछु । हामीलाई थाहा छ राजनीतिका कारोवारी र ती कारोवारीका सहयोगी नेताहरु जसले निष्ठा र आदर्शवान कार्यकर्तालाई आज बिर्सिरहेका छन खोलो तर्यो लौरो बिर्सेको शैलीमा । हुन त यो पनि सत्य हो आज पनि उनीहरुले बिपी, गणेशमान, सुवर्ण शम्सेर र किसुजीको व्याज खाइरहेका छन् ।
उनीहरुलाई थाहा पनी छ कि नाई काग्रेसका अग्रजहरुले कहिलेअफ्ना बारेमा सोचेकी सोचेनन भन्ने कुरा । जनताको स्वतन्त्रका लागि विपिले जिवनभर गरेको संघर्ष, गणेशमानले गरेको त्याग र किसुनजीको निष्ठामात्रै होइन आफ्नै सम्पती बेचेर कांग्रेस बनाउन लाग्ने सुवर्ण शम्सेरहरुको फोटाहरु आफ्ना अगाडी झुण्डयाउने अधिकार पनि कांग्रेसीले गुमाउदै लगेका छन् ।उहाँहरुको कुरै छोडौ जिवनको उत्तराद्र्धमा गिरिजाप्रसादले यो देश बचाउन अघि बढाएको सहमती र सहयकार्यको अभियान मात्रै होइन सुशिल कोइरालाको सादगीले पनि काग्रेसीहरुलाई नराम्ररी गिज्याइरहेको छ । ती आर्दश नेताहरुले आफ्नो जिवनकालमा कुनै एकपटक पनि आफ्नो र आफ्नो परिवारको बारेमा कुनै स्वार्थ राखे होलान र ? यदि उनीरुले पनि काग्रेसलाई सत्ता प्राप्तीको भर्यांग र धन आर्जन गर्ने साधन बनाएका हुन्थे भने आजका टाउकेहरु कांग्रेसका नाममा यो अबैध धन्दा चलाउन पाउथे होला र ?
आजसम्म हामीले के गर्यौ त्यो महत्वपूर्ण होइन अब फेरि हामी के गर्दैछौ त्यो महत्वपूर्ण छ । हामी जसरी छानिएका होउला त्यो पनि एकछिनलाई बिर्सिदिउ । अब यसपछि हुदै गरेको कांग्रेसको प्रदेश अधिवेशन र अन्त्यमा हुने केन्दीय महाधिवेशनमा हामीले आफ्नो विवेक गुमाउनु भएन । यदि यसअघि हामीले गल्ती गरेका थियौ भने पनि हामीलाई समयले मौका दिएको छ आफु सुर्धिने अनि बिवेक प्रयोग गर्दै काग्रेसलाई आफ्नो लक्ष्य र आर्दशमा फर्काउने । प्रदेश अधिवेशनमा फेरि पनि अबैध क्रसर उधोगका नाममा राज्यको सम्पतीमाथी लुट मच्चाउने लुटेरालाई नेताको पगरी गुथाउने कि उनका कर्तुतहरुको बिरुद्ध सतिसालझै आफुलाई उभ्उाउने ।
उनीहरुलाई प्रदेश सभापति र केन्द्रीय नेता होइन बरु आजसम्म गरिरहेको कुकर्मको सजायका लागि भागिदार बनाउनु पर्छ । काग्रेस त्यस्ता अबैध कारोवारीहरुको रक्षा कवच र धन कमाउने भर्याङ कदापी बन्ने होइन त्यसका लागि कांग्रेसका विकेकी कार्यकर्ताले आज सम्म के गरियो जसले कांग्रेसलाई कहाँ पुर्याउदैछ ठण्डा दिमागले सोच्ने बेला आएन र ? कांग्रेसलाई हामी कस्तो बनाउने त्यो हाम्रै हातमा रहेको छ । नदि किनारमा राज्यको प्रकृतिक श्रोत साधालाई लुट्न खडा क्रसर उधोगका मालिक, जग्गा प्लटिङ्ग का कारोवारी अबैध खानी र हाइड्रोपावरका कारोवारी लाई कांग्रेसको नेता बनाउने कि निष्ठा र आदर्श सहित आफ्नो जिवन यापन गरिरहेको अनि आफ्ना लागि भन्दा जनताको हितका लागि लागिरहेको सक्षम मानिसलाई नेता बनाउने ।
आज ती कालो धनका मालिकरुले एउटा भोटका लागि तपाइहरुलाई केही हजार रुपैया पक्कै देलान तर केही हजारको लालचमा कांग्रेसलाई समाप्त पार्ने र तीनै राजनीतिका कारोवारीको नोट कमाउने माध्यम किन बन्ने ? आज केही हजार रुपैयामा हामीले हाम्रो बिबेक बन्धक राख्यौ भने कांग्रेसको भविष्य मात्रै समाप्त हुने होइन समग्र देशकै भविष्य समाप्त हुनेछ । किनभने काग्रेस बलियो भयो भने मात्रै यो देशको भविष्य उज्वल छ । सोही मान्यता लिएर हामी सबै कांग्रेसमा आवद्ध भएका हौ । हामी एकपटक सोचौ त किसुनजीले जनताको लागि निष्ठको राजनीति नगरि क्रसर उधोग खोलेको भए, विपीले जग्गा प्लटीङ्ग गरेको भए गणेशमानले भ्याट छली गरेर कालोबजारी गरेको भए आज सम्म कांग्रेस बाचिरहन्थ्यो र ? यदि हामीले आदर्श मान्ने यी कोही पनि हाम्रा अग्रजहरुले त्यस्तो आफ्नो लागि केहि पनि गरेका थिएनन । केही गरेका थिए भने देश र जनताका हितका लागि गरेका थिए भने आज हामी फेरि आफ्नो लागि तपाईको भोटको अनि काग्रेसको र अन्त्यमा राज्यकै दोहोन गरिरहेका भ्रष्ट र लुटेराहरुलाई किन नेता बनाउदैछौ ।
राज्यको सम्पती ब्रम्हलुट गरेर कमाएको सम्पतीबाट जोडेको व्यवसाय, त्यस्ता राजनीतिक कारोवारीहरुको फील्ड र साइट हेरेरे विकास प्रेमी नेता भन्ने कि अरुका लागि आफ्नो समय र जिवन समर्पण गरिरहेकाहरुलाई नेता बनाउने । जसले आधा हिस्सा ओगटेका महिलाहरु जो समाजको पिधमा रहेका छन उनीरुको जिवन उत्थानका लागि सामुहिक सहकारीको बिकासमा आफ्नो यौवन न्यौछार गर्यो, जसले महिला शिक्षाका लागि आफुलाई सर्मपित गरायो त्यस्ताले हारको पिडा भोग्नुपर्ने अनि बैध अबैध समपती कमाएर घर घडेरी जोड्नेहरुलाई बिजयको माला पहिरयाउने कांग्रेस कार्यकर्ताहरुको यो कस्तो न्याय हो ? आज गलत गर्ने आफ्नै पार्टीको भएपनि त्यसका बिरुद्ध बोल्ने,बहस गर्नेहरुलाई नेताको बिरोध गरेको नाममा पाखा लगाउने र नेतारुलाई धनको बण्डल टक्रयाउनेहरुलाई टाउकोमा हुक लगाएर नेता बनाउने यो कस्तो परम्पराको बिकास हामीले कांग्रेसमा गरिरहेका छौ । के यसरी नै हो कांग्रेसको अनि देशको उत्थान हुने ।
धन कमाएकैहरुलाई मात्रै नेता बनाउने हो भने किन अधिवेशन गर्ने, किन पार्टी बनाउने सम्पतीको लेखाजोखा गरेर सबैभन्दा धनीहरुलाई यसको नेता बनाए भइहाल्यो नि ? समाज प्रति सकारात्मक कर्म गरेको आधारमा होइन अबैध धन आर्जन गरेर सोही धन प्रवाह गरेर आर्जन गरेको शक्तिको आधारमा मत दिने चलन यसरी नै मौलाउदै जाने हो भने कांग्रेस डन र धनका अबैध खेलाडीको कब्जामा पर्ने निश्चित छ । महाधिवेशनको पुर्वसन्ध्यामा कांग्रेस बचाउने अनि देश बचाउने महान अभिभारा प्रतिनिधिहरुको काँधमा आइपुगेको छ । यसअघि जे जसरी नै प्रतिनिधि बनेको भएपनि अब राजनीतिक रंगमा गरिने अबैध कारोवारका मालिकहरुलाई होइन हाम्रा अग्रजहरुले देखाएको बाटोमा निष्ठा पूर्वक हिडिरहेका नेतालाई आफ्नो अमुल्य भोट गर्ने बेला आयो । आफुलाई लिलाम गरेर भोट बिक्रि गर्दै कांग्रेस र देशको भविष्य लिलाम बनाउने कि आर्दश र निष्ठालाई पछयाउदै भोटको सदुपयोग गरेर कांग्रेस लाई सुधार गर्ने अनि देशलाई बचाउने छनौट तपाइहरुकै हातमा छ । कांग्रेस सुधारको यो बैचारिक अभियान निरन्तर जारी राख्नेछु ।
-खनाल नेपाली कांग्रेसकी नेत्री हुन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८