एमालेको दशौँ महाधिवेशनलाई यहाँले कसरी हेर्नु भएको छ ?
आज नेकपा एमाले माथी चौतर्फी आक्रमण र घेरबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष केपी ओलीको सफल सरकारलाई जनमत र जनादेशबाट होइन अनेकन षडयन्त्त सिर्जना गरि अदालतलको परमादेशबाट अप्राकृतिक ढंगले बिस्थापित गर्ने काम भएको छ । केपी ओलीको लोकप्रियताले गएको निर्वाचनमा एमाले देशको सबैभन्दा ठुलो पार्टी भएको थियो । उहाँकै पहलमा माओवादीसंग सहकार्य र पछि एकता भएको पनि सर्बविदितै छ । तर समय क्रमले अनेकन देशी बिदेशी षडयन्त्रका कारण नेकपा बिभाजित भयो मात्रै होइन एमालेले समेत बिभाजनको पिडा भोग्नु पर्यो । भलै एमालेबाट चोइटिएको समुह धेरै सानो मात्रै छ । यस्तो अवस्थामा पनि एमालेका तल्लो तहका नेता कार्यकर्ताहरुले एमालेको शक्तिलाई बचाएर राखेका छन् । भन्नुको अर्थ माथी केही नेताहरु चोइटिएको जस्तो देखिएपनि मुलभुतरुपमा मैदानमा भने एमाले जस्ताको त्यस्तै रहेको छ । एक हिसावले एमाले यो दशौ महाधिवेशन मार्फत सुद्धिकरणको अभियान रहेको छ । स्थानीय तहमा रहेका एमालेका नेता कार्यकर्ता यति जुझारु रहेका छन कि उनीरुलेनै यो पार्टी मुलभूत रुपमा थेगिरहेका छन् । महाधिवेशनले सोच्नुपर्छ कि ती कार्यकर्ताको पंक्तीको उभारलाई पार्टीले कसरी समावेश गरेर अघि बढ्छ । खासमा एक्काइसौ सताव्दीका चुनौतीलाई सामना गर्ने र सम्बृद्धिको यात्रालई अघि बढाउने दिशामा एमालको यो महाधिवेन स्वंम एमालेका लागि मात्रै होइन सिंगो देशकै लागि महत्वपूर्ण रहेको मैले पाएको छु ।
महाधिवेशनले मुख्यगरि नेतृत्व चयनको काम गर्नेछ,तपाईको बिचारमा एमालेको अबको नेतृत्व कस्तो आउनुपर्छ ?
तपाईले ठिक भन्नुभयो । हामीले पार्टीको बिधान महाधिवेशन सम्पन्न गरिसकेका छौ । विधान महाधिवेशनले हाम्रा नीति सिद्धात र बिचार के हुने मात्रै होइन हाम्रो संगठनात्मक ढाचा कस्तो हुने भन्ने पनि तय गरिसकेको छ । त्यसो भएका कारणले पनि यो महाधिवेशन अरु महाधिबेशन भन्दा फरक रहेको छ । अब दसौँ महाधिवेशनले खासगरि नेतृत्व छनौटको काम गर्नेछ । मेरो बिचारमा एमालेको यो महाधिवेशनले अर्थात महाधिवेशनमा नेतृत्व चयनको अधिकार पाएर आएका प्रतिनिधिहरुले अबको एमालेमा तिन तहको नेतृत्व चयन गरेर पठाउनु पर्छ । त्यो भनेको पार्टीलाई यहाँ सम्म ल्याइपुर्याउने बरिष्ठ र अनुभवी नेताहरुको एउटा पंक्ती छ । उहाँको योगदानको कदर गर्दै अनुभवलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्ने गरि नेतृत्वमा पुरयाउने पर्छ । मेरो बिचारमा मुख्य नेतृत्वको पंक्ती यिनै बरिष्ठ र अनुभवी नेताहरु मध्येबाट चयन हुनुपर्छ र हुनेछन पनि ।
दोश्रो चाही पार्टी भित्र मध्यपंक्ती छ । जसलाई अंग्रेजीमा भन्दा मिडिल क्यारियर पनि भन्न सक्छौ । उहाँहरुको पनि आवश्यक्ता रहेको स्वभाविक रुपमा उहाँहरु पनि महाधिवेशनमा चयन हुनुपर्छ । त्यसपछि अर्को भनेको युवापुस्ता र बिषयगत बिज्ञहरुको आवश्यक्ता रहन्छ । खासमा पार्टी नयाँ पुस्ताको उर्जा र पुरानो पुस्ताको अनुभवबाट नै अघि बढ्ने हो । यसपछि हामीले पार्टीको नीति निर्माण तहमा छुटाउनै नहुने भनेको बिज्ञ र बुद्धिजीवीहरु हो । हिजो बिभिन्न व्यवस्था बिरुद्ध आन्दोलन गर्नुपर्ने आवश्यक्ता थियो । अब हामीले अनेकन प्रकारका राजनीतिक परिवर्तन सम्भव बनाइसकेका छौ । हाम्रो नेतृत्वले मात्रै होइन यो देशले देखेको महत्वपूर्ण सपना भनेको मुलुकलाई सम्बृद्ध बनाउनु हो । त्यसका लागि राजनीतिक नेतृत्वको सपनालाई साकार पार्ने एउटा गतिलो टिम पार्टीभित्र हुन आवश्यक छ । हामीले समावेशीतालाई अंगिकार गरेका छौ । त्यसका लागि बिभिन्न कलष्टर पनि बनाएका छौ । देशको तस्वीर अनुसार पार्टीको तस्वीर बन्नुपर्छ । त्यसैले समावेशी पनि आवश्यक छ । तर अब हामीले ध्यान दिनुपर्ने कुरा के भने एक्काइसौ सताव्दीका चुनौतिलाई समाना गर्नका लागि देशलाई सम्बृद्धिको यात्रामा अघि बढाउनका लागि हामीसँग बिज्ञहरुको आवश्यक्ता छ । महाधिवेशनले त्यस्ता बिबिध बिषयका बिज्ञहरु जसले देशको बिकासमा योगदान दिन सक्छन, योजना बनाउन सक्छन, नेतृत्वले देखेको सपनालाई साकार पार्नका लागि काम गर्न सक्छन । हो त्यो क्षेत्रलाई महत्वका साथ नेतृत्व तहमा पुर्याउनुपर्ने आवश्यकता छ । त्यसरी इतिहास निर्माण गरेका, आन्दोलनाट आएका र बिषय बिज्ञहरको मिश्रण गरेर नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
एमालेको केन्द्रीय नेतृत्वमा बिज्ञ बुद्धिजिवीहरुको आवश्यकता औल्याउनु भयो यसको कारण के हो ?
नेपालका सबै जसो राजनीतिक पार्टीमा राजनीतिक बिषयलाई नेतृत्व दिने मानिसहरुको कमि छैन । हाम्रो पार्टीमा पनि राजनीतिक बिषयमा दशकौ संघर्ष गरेका, आन्दोलनबाट खारिएका एकसे एक नेताहरु हुनुहुन्छ । मैले विश्वमा पछिल्ला दशकहरुमा विकासको फड्को मारिरहेका देशहरुलाई नजिकबाट हेरिरहेको छु । तपाई धेरै टाढा होइन हाम्रो उत्तरी छिमेकी चीनकै नेतृत्वलाई हेरौ । त्यहा पार्टीको युवापंक्तीबाट बिषयगत बिज्ञ बनाउने चलन सुरु भएको छ । एक्काइसौ सताव्दीको एजेण्डा बिकासको एजेण्डा हो सम्बृद्धिको एजेण्डा हो । राजनीतिक नेतृत्वको काम बिचार दिने हो देशलाई सपना देखाउने हो । तर त्यसरी नेतृत्वले देखाएको सपनालाई सफलीभुत पार्नका लागि बिज्ञहरुको आवश्यकता हुन्छ । खासमा बुद्धिजीवीहरु पनि दुइ प्रकारका छन् । एउटा पक्ष छ जो नवउदारवादको पक्षमा रहेको छ । जसले खासगरि राप्रपा, काग्रेसलाई पार्टीका रुपमा समर्थन गर्दछ । जुन पंक्तिले आजको सरकार चलाइरहेको गठबन्धनलाई सहयोग गरिरहेको छ । तर एमालेलाई चाहिएको बुद्धिजीवी बिज्ञ त्यो होइन । उसलाई माक्सवादी द्धन्द्धात्मक भौतिकबादमा आस्था राख्ने बिज्ञ बुद्धिजीवी चाहियो । पिएचडी गरेका बिज्ञहरु भएर मात्रै हुँदैन । एमालेको नीति र बिचारलाई समर्थन गर्ने मानिसहरु चाहियो । बिज्ञ बुद्धिजीवी परिचालनका दुइवटा तरिका छन् । हामी स्वतन्त्र भनिएका या जुनकुनै बिचारमा आस्था राख्नेहरुालाई पनि कामका आधारमा सहयोग लिन सक्छौ । त्यस्ता बुद्धिजीवीहरु अवसरवादी हुन्छन जसले जहाँ प्रयोग गरेपनि हुने भयो । पार्टी सत्तामा आउँदा त्यस्ता बुद्धिजीवीहरु बग्रेल्ती पाउन सकिएला । तर जव सत्तामा पार्टी हुँदैन त्यो बेला उनीहरु चासो दिदैनन किनभने उनीहरु फाइदाका लागि मात्रै आफ्नो बिज्ञता प्रयोग गरिरहेका हुन्छन् । बास्तवमा त्यो हाम्रो जस्तो पार्टीका लागि उपयोगी पनि हुन सक्दैन ।
त्यसो भएकाले एमालेले पूर्णकालिन पार्टी कार्यकर्ताहरु जो बिषय बिज्ञका रुपमा छन उनीहरुलाई पार्टीको नीति निर्मण तहमा पुर्याउनुपर्छ । उनीहरुको बिज्ञतालाई पार्टीले सत्ता सञ्चालन गर्दामात्रै होइन सत्ताभन्दा बाहिर रहदा पनि पार्टीको नीति निर्माणमा उनीहरुलाई पूर्णकालिन रुपमा प्रयोग गर्न सकिन्छ । यही कुरालाई मध्यनजर गरेर पार्टीको यो महाधिवेशन मार्फत बिज्ञ बुद्धिजीवीहरुलाई पनि नीति निर्मण तहमा पुरयाउनु पर्छ । उनीहरुलाई पार्टीले संरक्षण गरेर नीति निर्माणमा संगसंगै लैजानु पर्यो । खास गरि पार्टीका अगाडी देशलाई एक्काइसौ सताव्दी सुहाउदो योजना बनाइ सोही बमाजिम बिकासको पथमा पुरयाउनु पर्ने चुनौति रहेको छ । त्यो चुनौति सामना गर्न पनि पार्टी भित्र उल्लेख्य बिज्ञ बुद्धिजीवीहरुको उपस्थीति आवश्यक रहेको छ ।
तपाई आफु चाही केन्द्रीय नेतृत्वमा किन जान चाहिरहनु भएको छ ?
मैले पार्टीको सुवेच्छुक संस्था नेपाल बुद्धिजीवी परिषदको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसके । आज पनि म नेपाल बुद्धिजीवी परिषदको अध्यक्ष छु । यहाँहरुलाई जानकारी गराउँ कि हाम्रो पार्टीसँग साठी हजार बढि बुद्धिजीवीहरु आवद्ध रहेका छन् । मैले खासगरी पार्टीको केन्द्रीय नेतृत्वमा म मात्रै होइन बिबिध बिषयका बिज्ञहरुलाई पुर्याउनुपर्छ भन्ने अभियानमा छु । अब साठी हजार बुद्धिजीवीहरुको नेतृत्व गरिरहेको संस्था नेपाल बुद्धिजीवी परिषदको दुइ कार्यकाल अध्यक्ष भइसकेपछि अब मैले जाने भनेको पार्टीको केन्द्रीय नेतृत्वमै हो । इन्जिनिरिड पेशाबाट आएको म योनजा निर्माण र सम्बृद्धिको सपना साकार पार्ने अभियानमा योगदान गर्न रुचि राख्दछु । यसअघि पार्टीले मलाई योजना आयोगमा सदस्य हुँदै उपाध्यक्ष सम्मको योगदान गर्ने अवसर पनि दिएको छ । मेरो केन्द्रीय नेतृत्वमा पुगौ भन्ने दावी स्वभाविक भएपनि मलाई कुन जिम्मेवारी दिने र मेरो बिज्ञतालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा खासगरी पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिहरुले तय गर्ने बिषय हो । नेतृत्व र प्रतिनिधी साथीहरुले जे भूमिका अदा गर भन्छन म त्यसका लागि सधै तम्तयार छु । किनभने नेतृत्वमा आउने बिषय मेरो व्यक्तिगत चाहानाले मात्रै काम गर्ने बिषय होइन । यसका लागि सबैको साथ सहयोग आवश्यक पर्दछ ।
- डा.दिनेशचन्द्र देवकोटा नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष हुन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८