काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन्।
झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशण नेपालवाणी मिडिया गु्रप प्रालिले गरेको छ।
यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशण गर्ने जमर्को गरेको बताए।
पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता संग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु संग्रह) र धुवाँएल आकृतिसभ (छौक संग्रह) प्रकाशित भइसकेका छन्।
यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८