काठमाडौं । गोर्खाज फाइनान्समा गैरकानुनी रुपमा भल्टबाट ३ करोड रुपैयाँ निकालिएको पाइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत र उपप्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा कार्यालय समयपछि बिना कुनै प्रक्रिया यसरी रकम झिकेको पाइएको छ ।
ताराचन्द्र बजगाईंलाई ऋण लिने व्यक्तिको रुपमा खडा गरी यो रकम निकालिएको छ । रकम बजगाईंको नाममा निकालिएको भए पनि यो रकम दीक्षान्त बानियाँको एकाउन्टमा जम्मा गरिएको देखिएको छ ।
दीक्षान्त बानियाँ नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री इन्द्र बानियाँका छोरा हुन । हाल बाग्मती प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँका छोरा दीक्षान्त बानियाँको नाममा गोर्खाज फाइनान्समा ७ लाख कित्ता बराबरको सेयर छ ।
गोर्खाजको सेयर कर्नरिङ गरी आमनेपालीलाई बर्बाद बनाई आफू अर्बपति हुने योजनामा रहेको दीपेन्द्र अग्रवालको साझेदारका रुपमा दीक्षान्त बानिया समेत देखिएका छन् ।
बिना कुनै निर्णय या प्रक्रिया एकपटकमा १० लाख रुपैयाँभन्दा बढी झिक्न नमिल्ने राष्ट्र बैंकको नियमविपरीत फाइनान्सको व्यवस्थापनले भल्टबाट बिना कुनै प्रयोजन उल्लेख गरी ऋण लिने दिने सम्बन्धी कुनै पनि प्रक्रिया पूरा नगरी यसरी भल्टबाट सिधै ३ करोड रुपैयाँ निकालिएको छ ।
सेयर कर्नरिङ गरिएको र सर्वसाधरणलाई डुबाउँदै आफूले सेयरबापत अर्बौं रुपैयाँ कुम्ल्याउने र फाइनान्स कब्जा गर्ने दीपेन्द्र अग्रवालको योजनामा मुख्य ब्याकअपका रुपमा उनै दीक्षान्त बानियाँका पिता ठेकेदार नेता इन्द्र बानियाँ रहेको पुष्टि भएको छ । बानियाँकै आड भरोसामा अग्रवालले पूर्व गोर्खा समुदायको खुन पसिनाबाट निर्माण भएको फाइनान्सलाई जबरजस्त आफ्नो कब्जामा पार्न खोजिरहेको देखिन्छ ।
यतिबेला आफैँभित्र कृत्रिम सेयरको मूल्यवृद्धि गरिएको र आफू अनुकुल वातावरण बनाएकाले जसरी पनि साधारणसभा गरेर आफू अनुकुल फाइनान्स बनाउने र सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना अग्रवालको छ ।
आजको दिनमा केही कर्मचारीहरूले यसरी बैंकिङ कसुरमा फस्ने गरी त्यो रकम झिक्न नमिल्ने जिकिर गरेपछि यो रहस्य बाहिरिएको छ । अब फाइनान्स कब्जा गरी कुनै पनि नियम कानुन पालना गर्नुनपर्ने गरी मनोमानी ढंगबाट यो कम्पनी चलाउने दीपेन्द्र अग्रवालको योजनामा कांग्रेस नेता इन्द्र बानियाँ आफ्ना छोरा मार्फत संलग्न रहेको रहस्य बाहिरिएको हो ।
सामान्यतया ऋण प्रवाह गर्नका लागि सबैभन्दा पहिले प्रस्ताव मागिन्छ र कालो सूचीमा रहे नरहेकोबारे एकिन गरेपछि आवश्यक धितोको अध्ययन गरिन्छ र उपयुक्त छ भनेपछि मात्रै यो ऋण दिने निर्णय गरिन्छ ।
तर यहाँ त त्यो केही पनि पालना गरिएको छैन । सिधै ताराचन्द्र बजगाईंको नाममा ऋण भनेर भल्टबाट सिधै रकम उठाइएको छ र त्यो रकम पटकपटक गरी दीक्षान्त बानियाँको खातामा जम्मा गरिएको छ । ऋण दिने निर्णयमा ऋण विभागको प्रमुख र ऋण विभागको रिस्क शाखा प्रमुखको समेत अनिवार्य हस्ताक्षर हुनुपर्छ ।
तर उनीहरू दुवै जनाले त्यो कुरा स्वीकार गर्न इन्कार गरेपछि उनीहरू बिदामा बसेको दिन हेरी मेमो उठाइएको छ र त्यो गलत कार्यमा संलग्न हुन इन्कार गरिएका कारण उनीहरू दुवै जनालाई घटुवा समेत गरेर उपत्यका बाहिर सरुवा गरिएको छ ।
यति ठुलो बैंकिक कसुर गर्ने सिइओ, उपसिइओ मात्रै होइन यसमा प्रत्यक्ष संलग्न देखिने तारा बजगाई मात्रै होइन, अप्रत्यक्ष संलग्न देखिएका दीक्षान्त बानियाँ र दीपेन्द्र अग्रवाल समेतलाई कारबाही हुनुपर्ने हो ।
यो विषय जानकारी पाएका बाँकी सेयरधनीहरूले कारबाहीका लागि राष्ट्र बैंकमा उजुरी गरे पनि अध्ययनका नाममा अहिलेसम्म कारबाही गरिएको छैन । त्यो कारबाहीमा ढिलासुस्ती गराउनका लागि बानियाँमार्फत अग्रवाललले खेलिरहेको देखिन्छ ।
हिजो पनि यस्तै कसुर गरेको पाइएपछि गोर्खा विकास बैङ्कका कैयौँ सञ्चालक र व्यवस्थापन माथि कारबाही चलाएर बैङ्कलाई घटुवा गरी फाइनान्स बनाइएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८