काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।
तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको बताइएको छ ।
एएफपिसँगको कुराकानीमा एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘मलाई धेरै डर लागिरहेको छ, धेरै हवाई फायरहरू भइसेका छन् ।’
गोली चलेसँगै सैन्यबाहेकका सबै उडान रद्द गरिएको डेलिमेलले उल्लेख गरेको छ । विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।
हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि देश छोड्न विमानस्थल पुगेको बताइएको छ ।
नेटोका एक अधिकारीका अनुसार विमानस्थलमा गोली चलेसँगै सबै उडान रद्द गरिएका छन् । उडान सञ्चालनका लागि नेटोले पहल गरिरहेको छ । विमानभित्र बसेकाहरूलाई पनि बाहिर निकालिएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८