काठमाडौँ । क्यारेबियन राष्ट्र हाइटीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या करिब १३ सय पुगेको छ । शनिवार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी १२ सय ९७ जनाको मृत्यु भएको छ भने ६ हजार बढी घाइते भएका छन् ।
भूकम्पका कारण एक हजार बढी घरहरू भत्किएका छन् । थुप्रै सरकारी कार्यालय तथा विद्यालय भवन पनि भत्किएका त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
हाइटी सरकारले एक महिनाका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।
हाइटीमा यस अघि सन् २०१० को जनवरीमा गएको भूकम्पले पोर्ट अउ प्रिन्स र नजिकैका अधिकांश सहरहरूमा ठुलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाख बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते तथा साढे एक लाख भन्दा बढी घरबार विहीन भएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८