काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैङ्क व्यवस्थापन समितिको हिजो (बिहीबार )साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ ।
आज (शुक्रबार) बिहान बस्ने राष्ट्र बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेपछि अपराह्न गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । राष्ट्र बैङ्कले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा आर्थिक श्वेतपत्र पेस गरेपछि मौद्रिक नीतिका लागि मार्ग निर्देशन भएको भन्दै राष्ट्र बैङ्कले आज मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
केपी ओलीको सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएकाले त्यसमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८