काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि मध्यमखाले वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश नम्बर–१ का केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू–भूगमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८