काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिमण्डल हेरफेर गरेका छन् । दोस्रो कार्यकालमा प्रधानमन्त्री मोदीले मन्त्रिमण्डलमा पहिलो पटक व्यापक हेरफेर गरेका हुन् । बुधवार राष्ट्रपति रामनाथ कोविन्दले ४३ नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नयाँ मन्त्रिमण्डलमा अधिकांश युवा र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व भएको छ । जसमा ११ जना महिला, अल्पसङ्ख्यक ६ जना, ८ जना जनजातिको तर्फबाट सहभागी गराइएको छ । मन्त्रिमण्डलमा ३६ जना नयाँ र सात जना पुरानैलाई निरन्तरता दिइएको छ । नयाँ थपिएका ३६ जनामध्ये ७ जना उत्तरप्रदेशबाट छन् । यसैगरी १२ मन्त्री दलित समुदायबाट अलग अलग राज्यबाट प्रतिनिधित्व गराइएको छ ।
मन्त्रिपरिषदमा १३ जना वकिल, ६ जना डाक्टर, ५ जना इन्जिनियर, ७ जना पूर्वसरकारी कर्मचारी र सात जनाले विद्यावारिधि हासिल गरेका छन । त्यसैगरी मुस्लिम, शिख, बौद्ध र क्रिश्चियन समुदायको पनि मन्त्रीमण्डलमा प्रतिनिधित्व रहेको छ ।
नयाँ मन्त्रीमण्डल बिस्तारसँगै मन्त्रीहरुको औसत उमेर ५८ वर्षमा झरेको छ जुन उमेर पुर्नगठन हुनुभन्दा पहिला ६१ थियो । १४ मन्त्रीहरु ५० वर्षभन्दा कम उमेरका छन् जसमा तीन मन्त्री ४० वर्षभन्दा कम उमेरका छन्।प्रधानमन्त्री माेदी सन् २०१९ मे मा दोस्रो कार्यकालका प्रधानमन्त्री भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८