नेपाल, भारत जस्ता सनातन धर्म, संस्कृतिका बाहुल्यताका देश कसरी धर्म निरपेक्ष राज्य बनाइए ? दोष कसको र दोषी को हुन् ? यिनै विषयमा संक्षिप्त प्रकाश पार्ने प्रयासमा यो सानो लेखमा गरिनेछ ।
नेपाली सांस्कृतिक तथा धार्मिक चरित्रका विशेषता : नेपाल हिन्दू धर्मप्रति आस्थाशील र पूर्वीय ज्ञान, सनातनी धर्म तथा सांस्कृतिक परम्पराको अनुयायी बाहुल्य समुदाययुक्त देशवासी जनताको धार्मिक सहिष्णुता भएको समाज हो । आर्य समुदायका वर्णाश्रमका अनुसरणकर्ताहरु ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र जातमा विभाजित सनातनी भूमि पनि हो । हिमाल, पहाड र तराई, मधेशमा बस्ने झण्डै ९५ प्रतिशतभन्दा बढी जनताहरु ओँकार परिवारका सदस्य हुनुमा गर्व गर्दछन् । देशको राजनीति तथा शैक्षिक पक्ष सबैतिर प्रायः ओँकार परिवारका अनुयायीहरुकै वर्चस्व र बोलबाला देखिन्छ । यहाँका अधिकांश जनताले आफूलाई सनातनी हिन्दू संस्कृतिका अनुयायी ठान्दछन् । तापनि नेपाली समाजमा आफूलाई वर्णाश्रमको पद्धतिभन्दा अलग ठान्ने जनजाति, हिमाली जातजातिहरुसमेत ठूलो संख्या छ । फेरि पनि राज्यको आफ्नो कुनै विशेष धर्म हुँदैन र राज्यका सार्वजनिक पदधारीहरुका लागि वैयक्तिक धर्म, आस्था, सांस्कृतिक मूल्यमान्यता कुनै धर्मप्रति विशेष हुन सक्छ । राज्य शासनका दृष्टिकोणमा सबै नागरिकका आस्था र विश्वास समान हुन्छन्, यसर्थ प्रजातान्त्रिक धारणामा राज्य धर्म निरपेक्ष हुनु आफैँमा स्तुत्य छ । तसर्थ नेपाली सांस्कृतिक तथा धार्मिक सहिष्णुता र उदारता जातीय चारित्रिक विशेषता मानिन्छ ।
विधर्मीको जालमा हिन्दू धर्म : प्रजातन्त्रका जननी तथा संसारलाई प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको ज्ञान र उपदेश दिने विश्वमा विकसित मुलुक धेरै छन् । ती शक्तिशाली मुलुकहरुले नेपालका शासकहरुमाथि सत्ता, शक्ति र वैभवका आधारमा विवेकमाथि कब्जा गरे । नेताहरुको लोभीपापी स्वभावले शिर्षस्थ अपराधी चरित्रको नेतृत्वलाई प्रोत्साहन ग¥यो । आर्थिक प्रलोभनमा परेर बलात राष्द्रमा धर्म निरपेक्षता लादियो, आम जनताबाट यस किसिमको आरोप सुन्न परिरहेको छ । फलतः विशुद्ध आध्यात्मिकता, सनातनी धर्म परम्परामाथि कुठाराघात गर्नेहरुले आधुनिक, वैज्ञानिक धर्म, सभ्यता र संस्कार युक्त शिक्षाका नाममा रैथाने मौलिक संस्कृति, वैदिक एवम् सनातनी धार्मिक प्रचलन, ज्ञान सीप तथा सांस्कृतिक सम्पदा पक्षका अनेकौँ पूर्वीय सभ्यता, ज्ञान, विज्ञान तथा खोज अनुसन्धानका गतिविधिलाई बाधा पुराउने कार्यहरु मुलुकमा भइरहेका छन् ।
आर्थिक प्रलोभन, कथनी र करणीमा फरक : अरब मुलुकहरु तथा पश्चिमा राष्द्रहरुको आफ्नो देशमा इस्लाम, इसाइ धर्म सापेक्षताको राजनीति गरिरहेका छन् । उनीहरु चाहिँ संसारमा धर्म निरपेक्षताको वकालत गरिरहेकोले धेरै शङ्का उब्जिन्छ । विदेशी संस्कृतिका आयातितहरुको हस्तक्षेपकारी नक्कली धर्म तथा संस्कृतिले प्रश्रय पाएको छ । हिन्दू धर्मविरोधी खुले आम व्यापार व्यवसाय तथा पेसामा स्थापित हुनेहरुको बोलबाला छ । समाजमा इसाइकरणको वातावरण निर्माणमा टेवा पुग्ने गरी देशको कानुन तथा नीतिमा विशेष ध्यान दिन थालियो भन्ने आरोप सुनिन्छ । तर आफ्ना प्राचीन धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विशेष सम्पदाहरु प्रायः नष्ट हुने क्रममा पनि राजनीतिक नेतृत्व पंक्तिमा चेत खुलेको छैन । पश्चिमाहरुकै इसारामा नेपाल देशलाई समेत सनातनी हिन्दूधर्मबाट विचलित गरी धर्मनिरपेक्षताको राज्य विधर्मी समाजमा प्रवेश गराइयो । आदेश र निर्देशन जो जसको भएपनि नेपाली मुखुण्डोधारी शासकीय नेतृत्वलाई अगाडि उभ्याएर विदेशीहरुले सफलता पाए आम जनताको गुनासो छ । झण्डैँ ९५ प्रतिशत ओँकार परिवारको धार्मिक तथा सांस्कृतिक उपस्थितिको बलियो जगलाई कमजोर बनाइयो । विश्वको एकमात्र राजकीय हिन्दू धर्म नेपालको पहिचानलाई बदल्दै २०७२ सालमा गणतान्त्रिक संविधानमार्फत धर्म निरपेक्ष राज्य घोषणा गरियो । अतः आफ्नाबाट आफ्नैको विनाशको रणनीतिक कुटील राजनीतिले भारतमा मुगल, अंग्रेजहरुले जसरी साम्राज्य फैलाएका थिए । त्यो इतिहास नेपालमा नेपाली अनुहारका बुख्याँचाहरुलाई प्रयोग गरेर आर्य सभ्यता, हिन्दू संस्कृति ध्वस्त पार्न चाहेको भन्ने कथनमा आम आर्य सनातनीहरु विशेष चनाखो हुनुपर्ने देखिन्छ । कथनी र करणी फरक भएका पश्चिमाहरुको हस्तक्षेपकारी राजनीतिमा नेपालले आफ्नो मौलिक स्वाभीमान गुमाउनु ठूलो चिन्ताको विषय मानिएको छ ।
नेपाल हिन्दूराज्य तथा भारतीय सनातनी परम्परा : नेपाल हिमाली काखको उत्तरी आर्यावर्त राज्यको विशाल छिमेकी देश चाहिँ भारत रहेको छ । भारत राज्यमा संसारका सबै धार्मिक सम्प्रदाय, समूह तथा विशेषता अपनाएका मानिसहरु बस्दछन् । भारत देशमा नै आर्यसभ्यता, संस्कृतिका सबै सनातनी आध्यात्मिक दर्शन, साम्प्रदायिक शाखा प्रशाखाहरुको जन्म भएको पाइन्छ । ऋषि, महर्षिहरुको तपोभूमि तथा आध्यात्मिक ज्ञान विज्ञानको प्रवर्धनको पवित्र भूमि पनि भारत तथा नेपाल रही आएको छ । प्राचीनकालदेखि तथा आधुनिक समाजमा ख्याती कमाएका विविध साम्प्रदायिक धार्मिक मार्ग तथा विचारका स्रोतहरुले मानव कल्याणको आधारभूत जग नेपाल तथा भारतलाई नै बनाइएको पाइन्छ । अपौरुषेय भनिने वेददेखि, पुराण, उपनिषद, रामायण, महाभारतहरुको सिर्जना, मानव समाजमा प्रयोग आयावर्तमा नै भएका थिए । पछिल्लो कालमा बौद्ध दर्शन, कबीर पन्थ हुँदै ओँ शान्ति, सत्य साइँ, आचार्य रजनीश र त्यसपछिका विविध अति सम्मानित सिद्ध महात्माहरुको मानव कल्याणकारी भूमि पनि नेपाल तथा भारत रही आएको छ । विवादित र अनाचरणका उदाहरण बन्दै रामरहिम जस्ता ढोँगी, अपराधीहरु पनि सिद्ध बाबाहरुको वेषभूषामा धार्मिक आडमा कर्मथलो बनाएर भारत तथा नेपाल देशलाई नै प्रयोग गर्दै आएको मानिन्छ । नेपाल, भारत तथा विश्वभरका हिन्दूहरुका लागि पूर्वीय धार्मिक, सांस्कृतिक विकास र आराधनाको मुख्य पवित्र भूमि भारतवर्षका विविध पीठ तथा नेपालका तीर्थस्थल रह्दै आएका छन् ।
सनातनी धर्मका भारत तथा नेपालका धामहरु : हिन्दूहरुका सयौँ सुप्रसिद्ध धार्मिकस्थलहरु नेपाल तथा भारतमा नै रहेका छन् । हरिद्वार, काशी, वाराणसी, प्रयागराज, जगन्नाथ, गंगोत्री, केदारनाथ, बद्रीनाथ, रामेश्वरम्, वृन्दावन, मथुरा, अयोध्या, काँची, शिरडी जस्ता अनेकौँ पवित्र तीर्थस्थल, देवधाम भारतमा छन् । पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ, कृष्णमन्दिर, ऋषिकेश, स्वर्गद्वारी, भैरवनाथ, हरिहरधाम, पिण्डेश्वर, तौलेश्वर, जलेश्वर, जानकीधाम जनकपुर, तथा सयौँ सुप्रसिद्ध शक्तिपीठहरु पूर्वदेखि सुदुरपश्चिमसम्म, हिमालयदेखि दक्षिणको भूभागसम्म तथा काठमाण्डौँ उपत्यकामा सयौँ संख्यामा पूजिन्छन् । नेपाल तथा हिमालबाट प्रवाहित कालीगण्डकी (शालिकराम) उत्पादन गर्ने पवित्र गंगा, जमुना जस्ता सयौँ पावन नदीहरुको संगमस्थल दक्षिण प्रवाहित हुनाले भारतमा पाइन्छ । भगवान श्रीकृष्णको द्वारावती समुन्द्रमा बिलाएझैँ हिन्दू आस्था युक्त यी सबै नदी, महानदीहरु महासागरमा समाहित हुन्छन् । यसरी नेपालबाट प्रारभ्म भएका सबै हिन्दूहरुका मुख्य धार्मिक आस्था केन्द्र तथा सयौँ सुप्रसिद्ध शक्तिपीठहरुको अन्तिम स्वरुप भारतमा नै रहेका छन् ।
धर्म तथा संस्कृति माथिको राजनीतिक षडयन्त्र : नेपाल, भारत धार्मिक तथा सांस्कृतिक प्राध्यान्यताका देश हुन् । तापनि आधुनिक विकास र समृद्धिका नाममा मौलिक पनको विनास गर्न थालियो । विदेशी संस्कार तथा नक्कलीपनको शिक्षाका उपाधिधारीहरुको नेतृत्वमा समृद्धिको सपना बुन्न प्रारम्भ गरियो । उनीहरुकै अगुवाइमा स्वदेशीपन, संस्कार तथा परम्परागत शिक्षा पद्धतिका विरुद्धमा समग्र शासन प्रणालीको प्रयोग हुन थाल्यो । फलत : भारतमा विदेशी शासकहरुको रणनीतिक योजनाले एकतावद्ध हिन्दू समाजलाई धुजा, धुजा पार्न तथा सनातनी धर्मावलम्बीहरुलाई विखण्डन पार्न राम्रोसंग काम गर्न थाल्यो । बाहिरी आवरणमा हिन्दू देखिने तर विदेशीको गोटीका बुँख्याचा पदाधिकारीहरुले आर्यसभ्यताका सबै वृक्षहरु तास्ने र कमजोर बनाउने काम गर्न थाले । शासकको मनोभाव राख्ने विदेशी भक्तहरुले नेपालमा पनि त्यही नीतिको अनुसरण गरे र नेपाली जनतालाई धार्मिक तथा सांस्कृतिक थिचोमिचो गरिरहे । उनीहरुले मानव समाज परिचालनका आधारभूत तत्व शिक्षा, पेसा व्यवसायका अर्थतन्त्रका क्षेत्र, धर्म संस्कृति र प्रजातान्त्रिक सहभागिता तथा राजनीतिक अभ्यासका नाममा सबैतिर एकल कब्जा जमाए । फलत : झण्डै ८० प्रतिशतमाथि ओँकार परिवारको उपस्थिति भएको भारत देशलाई सन् १९४७ मा नै गणतान्त्रिक संविधानमार्फत धर्म निरपेक्षताको नाममा खुइल्याइयो । राजनीतिको निर्ममतामा पछिल्लो अभ्यासमा एकमात्र विश्वमान चित्रमा हिन्दू पहिचानको नेपाल देशलाई समेत २०७२ सालको गणतान्त्रिक संविधानमार्फत राजनीतिक संडयन्त्रमा धर्म निरपेक्ष बनाइयो ।
सनातनी धर्ममा भारत तथा नेपालको विचलन : झण्डै एक अरब ३० करोडभन्दा बढी जनता बसोबास गर्ने मुलुक भारतमा झण्डै ८० प्रतिशत हाराहारीमा हिन्दु धर्मावलम्बी रहेका छन् । करीब ८३ प्रतिशत ओँकार परिवारका सदस्य भएको सनातनी धार्मिक, सांस्कृतिक मुलुक भएर पनि भारत वर्षलाई धर्म निरपेक्ष राज्य घोषित गरिएको छ । सनातनी धर्मका अनुयायी जनताको बाहुल्यता भएको देश भारत मुगल तथा अंग्रेज शासनकालदेखि धार्मिक रुपमा कमजोर हुँदै आयो । अंग्रेज मुक्त स्वतन्त्र भारत देशले सनातनी धर्म संरक्षणमा आफैँ पाकिस्तान धर्मका आधारमा विभाजित भएको अवस्थामा पनि भारतलाई हिन्दू राष्द्र घोषणा गर्न सकेन । यसले विश्वस्तरका सबै हिन्दूहरुले अपेक्षा गरेजस्तो गम्भीरता साथ सनातनी धार्मिक उत्थानमा ध्यान नदिएर गम्भीर लापर्वाही गरेको अनुभव हुन्छ । यसको नकारात्मक प्रभावमा नेपाल प¥यो र ९५ प्रतिशत जनता ओँकार परिवारका सदस्य हुँदाहुँदै जबर्जस्त धर्म निरपेक्ष राज्य घोषणा हुनु आफ्नो पनको स्पष्ट विचलन हो भन्ने देखाउँछ । यी सबै विषयमा गम्भीर बहस र आत्मसमीक्षा गरी नेपाल तथा भारतले स्वाभीमानी बाटो लिन आवश्यक छ ।
(लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन्)
प्रकाशित मिति: सोमबार, असार ७, २०७८