विचलित प्रजातन्त्रको गन्तव्य अराजकता र भ्रष्टप्रवत्तिको बढोत्तरी
राजनीति बिग्रिएर लाजनीतिको वर्चस्व हुन थालेपछि परिवारवाद, वंशवाद, जातजातिवाद, सम्प्रदायवाद, भाषावाद, क्षेत्रीयतावाद, निश्चित वर्ग, समुदाय र समूहको आशिर्वादले सत्ताा कब्जा हुन्छ । राजनीतिक नेतृत्वमा गुटवादको प्रवेश र कुनै अदृश्य शक्तिशाली राजनीतिक आडको आश्रितताले मुलुकको राजनीति तथा पार्टी र तिनका नेताहरु आफैँ कब्जा हुन्छन् । तब राजनीतिक पार्टी, प्रशासनिक संयन्त्र र प्रजातान्त्रिक पद्धतिका आधारभूत मूल्यमान्यता एवम् जन सहभागितामूलक लोकतन्त्रको व्यवहारिक पक्षको विधिवत समाप्ति हुन्छ । उदाहरणका लागि भारतीय फिल्ममा देखाइने लोकतन्त्रको अभ्यासमा विश्वप्रसिद्ध रहेको छिमेकी मुलुक भारतको अवस्थालाई मनन गर्नु उचित हुन्छ । त्यहाँका राजनीतिक पार्टीहरु, शिर्षस्थ तहका नेतृत्वका पदाधिकारीहरु, आम नेता तथा कार्यकर्तामा राजनैतिक चरित्र तथा नैतिकता कति पातलो छ ? वैयक्तिक स्वार्थमा उच्त तहका नेताहरु समेत बिहान एउटा दलमा साँझ अर्को दलमा कसरी प्रवेश गर्छन् ? गुडाराजका बलमा कसरी चुनावका मतदान केन्द्रहरुलाई कब्जा गर्दछन् ? राजनीतिमा उच्च दल बदलु प्रवृत्ति हुनाले पनि छिमेकी देश भारतको विकृत राजनीतिक अभ्यासले दक्षिणी एशियाका अन्य मुलुकमा नकारात्मक प्रभाव परेको सहजै अनुभव हुन्छ । २०५२ साल पछाडिको नेपाली राजनीतिक विकृतिलाई पुनः वर्तमान कालीन शासकीय चरित्रमा पद र सरकारी सेवासुविधा भनेपछि त्यो महामारी रोग दोहोरिन थालेकोले साह्रै चिन्ता थपेको छ ।
बेलगाम नेतृत्व तानाशाही व्यवस्थाको आधार जग
कुनै पनि नेतृत्वमा अहम्, दम्भ भरिँदा आफैँलाई देवत्वकरणमा रुपान्तरण गर्न लालायित हुन्छ । नेतृत्वबाट राजनीतिका नाममा सत्ता र नेताका भजनमण्डली, स्तुति गायक खोजिन्छन् । वस्तुनिष्ठ समालोचनात्मक बौद्धिकहरुको खेदो खनिन्छ । तर समुदायका बुद्धिजिवी भनाउँदा बुद्धि बेचुवा, लोभीपापीहरुको समूह परिचालन गरेर जनतालाई भ्रम छरिन्छ । जी हजुरी स्वार्थ समूहको घेरावन्दीको सुरक्षामा आफूलाई राखेर नेतृत्व बेलगाम रुपमा मनोपली राज्य सञ्चालनमा रमाउँन थाल्दछ । फलतः नेताहरुले आफ्नो आधार जग भुल्न थाल्दछन् । सत्ताधारी पार्टीभित्र पनि फरक मत राख्ने प्रतिपक्ष छन् भन्ने भुल्दछ र आफै मात्रलाई पूर्ण नेता, पार्टी र राजनेता ठान्ने भूल गर्दछ ।
किन जन्मिन्छ निरंकूशता ?
बहुदलीय प्रतिस्पर्धामा राजनीतिक प्रतिस्पर्धी वृत्तका प्रतिपक्ष, अर्थात आफू बाहेकका सबै फरक विचारधारालाई नेतृत्वको अहम्कारे अस्वीकार गर्न पुग्दछ । परिणाम इन्दिरा गान्धीको आपत काल घोषणा र विरोधीहरुको जेल यात्राको प्रजातन्त्र विकासको इतिहास सबैतिर पुनरावृत्त हुने उच्च जोखिमयुक्त वातावरण तयार हुन्छ । देशमा राजनीतिक उच्च संस्कार, सम्मानजनक चरित्रको विकास र पूर्ण प्रजातान्त्रिक अभ्यासमा नव पुस्तालाई प्रशिक्षित गर्न बाधा पुग्दछ । जुन नेतृत्वले राजनीति गर्ने हो तिनले नै राजनीतिक चरित्रलाई लाजनीतिमा पुराएपछि भावी पुस्ता राजनीतिप्रति कसरी आकर्षित हुन्छन् ? धनवाद र डनवादमा चलेको राजनीतिमा प्रवेश भएको नवयुवाले कसरी आफूलाई परिवर्तनको पक्षमा अड्याएर राख्न सक्ला ? यी सबै पक्षको विचार गर्दा जनतामा चरम निराशा, कुण्ठा र आक्रोशको जन्म हुन्छ । सभ्य, शिष्ट र पुस्तौली राजनीतिको ठेकेदारी दावी गर्नेहरु आफ्नै राजनीतिक अराजकताका शिकार हुन्छन् र प्रजातन्त्रमा गला घोटिन्छ भन्ने भुक्तभोगाइको उदाहरण भारतको ४६ वर्ष पुरानो राजनीतिले सावित गरेको छ ।
राजनीति कसैको पेवा होइन ? भारतबाट सिकौँ
राजनीति इमान र संषर्घको क्षेत्र बनाउनेहरुका लागि भविष्य उज्यालो छ भन्ने प्रमाण भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी र जनसंख्यामा विशाल उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले जनताको अनुमोदन पाएर प्रमाणित गरेका छन् । घर गृहस्थी सञ्चालनमा असफल, वैराग्य स्वभावका साधुसन्त सेवा, तीर्थस्थल र तपोभूमिको तपमा आनन्दित व्यक्तित्व मोदी कुनै सार्वजनिक क्षेत्रमा परिचित थिएनन् । त्यसरी नै राजनीति तथा सार्वजनिक कुनै विशिष्ट पदधारण गरेर राजनीतिको क्षेत्रमा कुनै पुस्तौली विरासत बोकेर नआएका साधारण घरपरिवारका नागरिक हुन् प्रधानमन्त्री मोदी । प्रतिस्पर्धी राजनीतिक पार्टीहरुका लागि एक सामान्य पेटपाल्न रेल्वे स्टेशनको चियावाला, चौकीदार, मदारी, तेली, रिक्सालाला जस्ता उपनामले खिस्याइएका र जनता समक्ष चिनाइएका र सबै पेसा र कामको भुक्तभोगी हुँ भन्ने स्वीकार्ने व्यक्ति हुन् मोदी । तर तिनै साधारण नागरिक गुजरात जस्तो भारतको नवौँ विशाल जनसंख्या भएको ठूलो प्रदेशको एकाएक मुख्य मन्त्री हुनु र जनताको अत्यधिक मतभारले मुख्यमन्त्रीमा पुन : दोहोरिनुले राजनीतिक इमान र संघर्षको उत्कृष्ट उदाहरण देखाउँछ । गुजरातका दुई अवधिका लोकप्रिय नेता भारतीय जनता पार्टीको उम्मेदवारका रुपमा भारत जस्तो विशाल लोकतान्त्रिक मुलुकको एकै चोटी प्रधानमन्त्री बनेका र दोस्रो कार्यकाल तामझामका साथ चलिरहेको छ । भाग्यको खेल वा विधाताको चाह्ना साधारण घरगृहस्थको २२ वर्षे युवा अजय सिंह सन्यासी अवैद्यनाथ पीठ गोरखपुर गोरक्षटिलाका महन्तका शिष्य हुन्छन् । गुरु आज्ञा शिरोपर गरी सन्यास धर्म र सनातन सांस्कृतिक मूल्यमान्यताको पक्षधर योगी राजनीतिक प्रतिस्पर्धामा चार पटक सांसद र पाचौँ पटकमा योगीराजका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्रीको बागडोर सम्भाल्छन् र शासन हाँकिरहेका छन् । यसर्थ राजनीति र सत्ता कसैको पेवा होइन ? जनता उठे र जागे भने को कहाँ पुग्ला भारतीय प्रधानमन्त्री र योगी मुख्यमन्त्रीबाट सिकौँ ।
यदुवंशी विनाशको पुनरावृत्तिको पिडादायी राजनीति
विश्व, छिमेकी र आफ्नै विगतको राजनीतिक सिकाइका मूलभूत सन्देशहरुलाई आत्मसात गर्न नसक्ने राजनीतिक पार्टी तथा तिनका नेताहरु इतिहासमा लाजले आफ्नो मुख छोपेर बस्नुपर्ने हुन्छ । नेपालमा सत्ताधारी पार्टीको सर्वशक्तिशाली अध्यक्ष दावी गर्ने र आफू खुशी सरकार चलाउन नपाएको झोँकमा संसद र पार्टीलाई दण्डित गर्न उद्यत बहालवाला प्रधानमन्त्रीले भारतीय राजनीतिज्ञ अमरसिंहको तीन वस्तु हस्तान्तरणले राजनीति सकिन्छ भन्ने सन्देश ग्रहण गरेको अनुभव हुन्छ । यसो गर्दा मुलुकको प्रजातान्त्रिक अभ्यासलाई नै कमजोर तथा अस्थीर बनाउने मुख्य दोषको भागीदार मात्र भएनन् नेपालको राजनीतिक दिशा के हुने ? अन्यौलताका नायक पनि सावित भएका छन् । झण्डै दुई तिहाईको सरकारदेखि खिइँदै गएर अल्पमतको सरकारको प्रधानमन्त्रीका रुपमा पुग्दा पनि आफैँलाई मात्र योग्य देख्ने प्रधानमन्त्री मानसिकतालाई कसरी सफल राजनीति भन्न सकिएला र ? आफ्नै पार्टीमा फरक फरक विचार तथा मतधारीलाई समेट्न नसक्दा असफल नेताका कारण कम्युनिष्ट पार्टीको सरकार असफल बनाइयो भन्ने सन्देश विश्वभर फैलियो । कम्युनिष्टहरु संसदीय पद्धतिलाई बलियो बनाउन चाह्दैनन् भन्नेहरुलाई बल पुग्ने गरी संसदलाई बन्धक बनाइयो र अध्यादेशबाट शासन चलाउन खोजियो । पार्टीको सिद्धान्त र निर्णय विपरित पार्टी अध्यक्ष र सरकारले जथाभावी कानुन र कार्यक्रम घोषणा नगरोु् भन्ने शिर्षस्थ नेताहरु विभागीय कारवाहीका भागीदार भएका छन् । तीन धारको राजनीति गर्ने ठूला दलमा समाहित हुने प्रयासमा रहेको नेपालको राजनीति एकातिर यदुवंशी विनासको गतिमा बढी रहेका छ भने अर्कोतिर आधा दर्जनभन्दा बढी राजनीतिक दलको सिर्जना हुने गरी विखण्डित हुँदैछन् ।
असफल नेपालको राजनीतिक नेतृत्व
कुनै बलियो आधार विना तथा राजनीतिक पार्टीको सहमति बेगर दुई दुई पटक अनाहकमा संसदलाई विघटन गरियो । यही घटनाका कारण सत्तापक्ष पार्टी धेरै विवादित र कमजोर हुँदै गएको छ । विपक्षी राजनीतिक दलमात्र होइन सत्तापक्षकै ठूलो संख्याका सांसदहरु पदको माया नगरेर संविधान, व्यवस्था र प्राप्त उपलब्धि बचाउन भन्दै आफ्नै पार्टीको सरकारको कामकार्वाहीप्रति विद्रोह गरिरहेका छन् । सात प्रदेशमध्ये छ वटा प्रदेशमा एकाधिकार रहेको नेकपाका सरकारहरु एकपछि अर्को गरी धरापमा पर्दैछन् । संघीय तथा प्रादेशिक तहमा राजनीतिक अस्थीरताको संक्रमणले मुलुककाु सबै राजनीतिक तथा प्रशासनिक वातावरण धमिल्लिएको र अन्यौलग्रस्त हुन पुगेको छ । एकमात्र प्रधानमन्त्रीले पार्टी अध्यक्ष र सरकार प्रमुखको हठको बलमा विश्वले आत्मसात गरेका राजनीतिक विधि, पद्धति तथा वैयक्तिक नैतिकताको अनुसरण नगर्दा मुलुक संकटमा फसेको छ । सात दशकको अथक प्रयास, हजारौँ जनताको बलिदानी त्याग र लाखौँ लाख जनताको सहभागिता र बलिदानी योगदानबाट सिर्जित बहुदलीय गणतन्त्रात्मक व्यवस्था धरापमा पर्दै गएको छ । असफल राजनीतिक नेतृत्वले मुलुकलाई कसरी आन्तरिक संघर्षमा पुराउँछ भन्ने कुरा वर्तमान राजनीतिको लाजमर्दो गतिविधिले पुष्टि गरेको छ ।
जनतामा बढ्दो निराशा
राजनीतिक नेतृत्वप्रतिको सम्मानजनक आस्था र विश्वास संसदीय प्रणाली सिद्धाउने सरकारका एक पछि अर्को घटाइएका घटनाहरुले जनतामा आशा मारिदिएका छन् र निराशा भरिएका छन् । यसर्थ जनताका लागि अविश्वासका खेलाडीहरु नेपाली राजनीतिक पार्टी र तिनका नेताहरुलाई विश्वासमा लिन ढिलाइ गर्नु हुन् भन्ने छर्लङ भएको छ । यी सबै घटनावलीहरुले गर्दा राजनीतिक पार्टीका नेताहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जनताका दृष्टिमा धेरै गिरेर मुलुकको राजनीति सुस्थीर हुन सक्दैन । तसर्थ नेपाली भूमिले पनि मोदी र योगी जस्ता राजनीतिक हस्तीहरु कतै जन्माउनु र खोज्नुपर्ने त होइन ? सचेत निष्पक्ष नेपाली जनताले सोच्नपर्ने बेला आएको छ । भरौटे र लुटेराहरुको धेरै आशा नगरौँ ।
के लोकतन्त्र यस्तै व्यवस्था हो ?
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र, समाजवादका सिद्धान्तको जग पूर्ण भेदभावरहित सबै जनताको समान सहभागिता र सामूहिकताको सम्मानमा फल्ने, फूल्ने ठानिन्छ । तर नेपालमा राजनीतिक नेतृत्वलाई लाजनीतिले घेर्ने र अपमानजनक पदच्यूत गर्नुपर्ने निरन्तरको इतिहास रहि आएको छ । पार्टीका बलमा सरकारमा पुग्ने नेताहरु वैयक्तिक स्वार्थमा देश जनताका गाँस, बास र कपासका सबै मुद्दाहरु बिर्सिन्छन् र को कसको स्वार्थ पूर्तिमा आफ्नो विवेक हराउँछन् भन्ने स्पष्ट देखिएको छ । इतिहासदेखि नै वैयक्तिक स्वार्थलाई राजनीतिक आवरण दिने र के ठिक के बेठिक नपर्गेल्नेहरु सत्ताका लागि प्रिय हुने प्रवृत्ति मौलाएको छ । प्रश्न गर्ने तथा उत्तर खोज्ने विवेकी नेता तथा कार्यकर्ताहरु पार्टी समूहबाट निकालिन्छन् वा नेताहरुबाट प्रताडित हुनु पर्दछ भन्ने देखिएको छ । इमानदारहरु पार्टी पद्धतिमा बस्न नसकेर कि आत्मसमर्पण वा सक्रिय राजनीतिबाट भाग्नुपर्ने हुन्छ भन्ने अनुभव सुनिन्छ । राजनीति र सार्वजनिक प्रशासन दुवै क्षेत्रमा तमोगुणीहरुको बाहुल्यता र अविवेकीहरुको नेतृत्व स्थापित भएपछि देश असुरक्षित हुँदै शासन प्रणाली कुशासनमा रुपान्तरण हुन्छ । फलत : देश र जनताले धेरै अपमान र दुखको सामना गर्नुपर्ने हुन्छ । नेपालको राजनीति लाजनीतिको भुमरीमा फस्दै गएको छ । के लोकतान्त्रिक शासन व्यवस्था यस्तै हो ?
-लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन्
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८