काठमाडौँ -पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक विद्या सागर पोखरेलको शुक्रवार बिहान काठमाण्डौमा निधन भएको छ ।
पोखरेलको हृदयाघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए ।
बिहान खाना खाइरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केही समयमानै उनको निधन भएको पारिवारिक श्रोतबाट जानकारी भएको छ ।
फुटबलका खेलाडीको रूपमा खेल जीवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात् राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए । उनी उमेर हदका कारण परिषदबाट सेवा निवृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरू उत्पादन भएका थिए । उनले १९३३ का बङ्गलादेशको ढाकाबाट अन्तर्राष्ट्रिय निर्णायकको परीक्षा उत्तीर्ण गरेका थिए । पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ वर्ष देखि कुस्ती सङ्घको महासचिवका हैसियतले कार्य गर्दै आइरहेका थिए ।
२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभूषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८