नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ ।कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।
कोरोना भाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ ।यसअघि लामो समयसम्म सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो ।
अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।
कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ । भारतमा एकातिर खोप अभियान चलिरहेको छ भने अर्को तर्फ दैनिक हजारौको मृत्यु र लाखौँ सङ्क्रमित हुने क्रम पनि चलिरहेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ३४ लाख ६८ हजार पुगेको छ । कोभिड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल र भारत रहेका छन् ।
प्राप्त विवरण अनुसार संयुक्तराज्य अमेरिकामा हालसम्म ६ लाख ३ हजार, ब्राजिलमा ४ लाख ४८ र भारतमा २ लाख ९९ हजारको ज्यान गएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८