लमजुङ । आज बिहान गएको भूकम्पले लमजुङमा २७ घर क्षतिगस्त भएका छन् भने ६ जना घाइते भएका छन् ।
बुधवार बिहान बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ ।
अहिलेसम्म भूकम्पमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका हुन् भने मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका हुन् ।
घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।यसैगरी हालसम्म २७ वटा घरमा क्षति भएको विवरण प्राप्त भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८