काठमाडौँ । सरकारले कोरानाविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने कार्य तत्काललाई स्थगित गरेको छ । आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै खोप लगाउने कार्य पनि स्थगित गरिएको हो ।
बुधवारसम्म निरन्तर लगाइरहेको खोप लकडाउनका कारण स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौँद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
‘कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत २०७७ चैत २५ गतेदेखि निरन्तररुपमा १८ देखि ५९ वर्षसम्मका व्यक्तिहरूलाई भेरोसेल खोप लगाइरहेकोले वैशाख १६ देखि केही समयका लागि स्थगित गरिएको हो’ सूचनामा भनिएको छ ।
चीन सरकारले नेपाल सरकारलाई भेरोसेल खोपको आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिइएको थियो ।
नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८