जनकपुरधाम । यस वर्षको महामूर्खको उपाधि मह जोडीले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलन अन्तर्गत प्रत्येक वर्ष होलीको पूर्व सन्ध्यामा दिइने महामूर्खको उपाधि यस वर्ष कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीले पाएका हुन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरेका थिए ।
यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विधामा पटमूर्खको उपाधि दिएका छन् । जसअन्तर्गत मुर्ख शिरोमणिको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।
यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह बैशाखान्नद, जसपाका नेता राजिव झा वंश कुरहारी, सञ्चार उद्यमी शंकर साह मुसरीलाल र सितल साह ढोरवाको उपाधि पाएका छन् । महिला नेत्री विन्दु ठाकुरले खुब सुरतीको उपाधि पाएकी छन् भने मिथिला चित्रकार एस सी सुमनल घरघुसकाको उपाधि पाए ।
पर्यावरण अभियन्ता सुरेश शर्मा हाराशेख, सुजित झा सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्त बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह लोढाशंकर, विरेन्द्र कर्ण बज्रकिट र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी पटमूर्खको उपाधि पाएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७