काठमाडौँ । नेपाललाई जर्मनीले १० मिलियन युरो अनुदान दिने भएको छ । नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच उक्त अनुदानको सम्झौता भएको हो ।
यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ । सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ ।
राजदूत सेइफेरले भनेका छन्,‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ ।’
आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व रहेको र ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेको राजदूत सेइफेरको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७