–पूर्ण चलाउने
टोकियो । नेपाल–भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बुँदाहरुमा पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने विज्ञहरुले बताएका छन । आइतबार टोकियोको इचिगायास्थित जाइकाको सेमिनार हलमा चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘१९५० को मैत्री सन्धिको सान्दर्भिकता र नेपाल–भारत सम्बन्ध’ विषयक कार्यक्रममा पुनरावलोकनका बुँदाहरुमा अध्ययन र अनुसन्धान गरिनुपर्नेमा पनि विज्ञहरुले जोडदिए । कार्यक्रममा जवाहरलालनेहरु विश्वविद्यालय दिल्लीका प्राध्यापक तथा नेपाल–भारत सम्बन्ध पुनरावलोकन सम्बन्धी गठित प्रबुद्ध समुहमा भारतीय पक्षका सदस्य डा महेन्द्र पी लामाले भारत र चीनका बीच नेपालको महत्वपूर्ण भूमिका रहेको बताउदै नेपालले आफ्नो शक्ति चिन्न नसकेको बताए । १९५० को सन्धिमा नेपाललाई मन नपरेका बुँदाहरु नेपाल सरकारले लिखित रुपमा भारत सरकार समक्ष राख्न नसकेको उल्लेखगर्दै लिखित रुपमा स्पष्ट धाराणाहरु राख्न सुझाव दिए । ‘भारत नेपालसँगको आफ्नो सम्बन्ध नबिग्रोस भन्ने चाहन्छ भारतले नेपालको शक्ति बुझेको छ तर नेपालले आफ्नो शक्ति बुझ्नुपर्छ ।’ लामाले भने ‘नेपाल चीन–भारत बिचको ‘स्यान्डविच’ हो स्यान्डविचको दुई रोटी बिचको बटर हो नेपाल, बटर बिना स्यान्डविच मिठो हुँदैन ।’ लामाले भने, ‘नेपालले आफ्नो सोचाइको दायरा बढाउनुपर्छ र भारत र चीन बीच आफ्नो भूमिका देखाउनुपर्छ ।’ १९५० को सन्धिको दुई देशलाई फाइदा भइरहेका पक्षहरुमा पनि ध्यानाकर्षण गराउँदै विमतिका बुँदाहरुमा अध्ययन गर्नुपर्ने सुझाव दिए ।
चुकुवा विश्वविद्यालयका सह–प्राध्यापक डा कमल लामिछानेले १९५० को मैत्री सन्धिका केहि बुँदाहरु राणा शासन टिकाउका लागि गरिएको टिप्पणी गर्दै सन्धि पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिए । नेपालका राजनेताहरुको अभिव्यक्ति र कार्यशैली फरक भएको आरोप लगाउदै राजनीतिक दलले भारत खुशी बनाउन मात्र काम नगरी राष्ट्र बनाउन काम गर्नुपर्ने धारणा राखे । नेपाल–भारत सम्बन्ध बिग्रे दुबैलाई फाइदा नहुने बताउँदै भारतसँग बलियो सम्बन्धका लागि नेपालको डिप्लोम्याटिक च्यानल बलियो हुनुपर्ने लामिछानेले बताए । ‘नेपाल आत्मनिर्भर हुनुपर्छ भारतसँग माग्ने काम बन्द गर्नुपर्छ, चीन र भारतसँगको सम्बन्धमा सन्तुलन ल्याउनुपर्छ’ उनले भने ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि लगायतले १९५० को मैत्री सन्धिका नाममा भारतले नेपाल माथि हस्तक्षेप गरिरहेको गुनासो व्यक्त गरेका थिए । वैदेशिक लगानी समन्वय परिषदका सदस्य, समृद्ध नेपाल निर्माण अभियान कार्यक्रमका संयोजक महेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदुरपश्चिमेली समाजका अध्यक्ष पूर्ण चलाउनेले स्वागत मन्तव्य राखे भने कार्यक्रममा विषयवस्तुको बारेमा आइएनएफएसडीका संयोजक दुर्गाबहादुर खत्रीले गरेका थिए । पहिलो चरणको कार्यक्रम सञ्चालन रिपोर्टर्स क्लव नेपाल जापानका अध्यक्ष सन्तोष चोखालले गरे भने अन्तरक्रिया कार्यक्रमको सहकर्ता डा.विजय ज्ञवालीले गरे । कार्यक्रममा एनआरएनए जापान, आइसीसी, सामाजिक संघ संस्था, विद्यार्थी, व्यापारी बुद्धिजीवी लगायत झण्डै १ सय जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४