प्रकाश पाण्डे नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष हुन । सोहि संघको आयोजनामा राजधानीमा ११औँ इक्यान शैक्षिक परामर्श मेला आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको यो मेलामा १ लाख ३१ हजारले अवलोकन गरेका छन । विदेश पढन जाने विद्यार्थी र तीनका अभिभावकहरुको रोजाइमा पर्दै आएको इक्यान शैक्षिक मेलाको वर्षेनी महत्व बढिरहेको सहभागीहरुको घुइचोल नै प्रष्टै हुने गरेको छ । लामो समयदेखि यो व्यवसायमा रहदै चरणबद्ध नेतृत्व सम्हाल्दै आएका पाण्डेको नेतृत्वमा मेट्स एजुकेसन चलिरहेको छ भने अघिल्लो अधिवेशनबाट उनी इक्यानको नेतृत्वमा पनि रहेका छन । ११औँ इक्यान शैक्षिक मेला र समग्र परामर्श व्यवसायको अवस्थाका बारेमा केन्द्रीत भएर आजकोन्युजले उनै पाण्डेसँग गरेको कुराकानी ।
११ औँ इक्यान शैक्षिक मेला समग्रमा कस्तो रह्योे ?
–मेला हाम्रो अपेक्षा अनुरुप नै सफल भएको छ । हामीले चार दिनमा एक लाख २५ हजारभन्दा बढी विद्यार्थी अभिभावकहरुले मेला अवलोकन गर्ने अपेक्षा गरेका थियौँ । हाम्रो अपेक्षा अनुरुप नै चार दिनमा एक लाख ३१ हजाराले मेला अवलोकन गरेका छन । पहिलो दिन २० हजार, दोस्रो दिन ३३ हजार पाँच सय, तेस्रो दिन ५२ हजार र आइतबार अन्तिम दिन २५ हजार ५ सय विद्यार्थी अभिभावकले मेलाको अवलोकन गरेका छन । मेलामा २ सय ३६ स्टल र १४ पेविलियन गरि जम्मा २ सय ५० स्थानबाट परामर्श दिइयो । विद्यार्थी र अभिभावकलाई शिक्षामा नेपाल भित्र र नेपाल बाहिर रहेका अवसरहरुको बारेमा पूर्ण रुपमा जानकारी गराउने, सूचना दिने, सुसूचित गराउने काम भएको छ । विद्यार्थीहरु यदि विदेश जान चाहे भने विदेश जाँदै गर्दा उनीहरुलाई पर्न सक्ने गाह्रो अफ्ठेरो वा सहज, त्यहाँ प्राप्त हुने अवसर र चुनौतिहरुका बारेमा जुन कुरा पुर्याउने हाम्रो चाहना थियो त्यो अनुरुप नै विद्यार्थी अभिभावकका बीचमा जानकारी पुर्याउने काम पूरा भएको छ । धेरै विद्यिार्थी र अभिभावकहरु यो मेलाबाट लाभान्वित हुनु भयो भन्ने हामीले विश्वास लिएका छौँ । केही विद्यार्थी र अभिभावकहरुसँग हामीले कुरा बुझ्दै गर्दा पनि हामीले राम्रो प्रतिक्रिया पाएका छौँ । नेपालबाट बाहिर जने विषय आफैँमा सहज छैन । आफ्नो घर परिवार, आफ्नो क्लाइमेट र कल्चर छाडेर अर्काको देशमा जानु सहज छैन । विदेश जाँदै गर्दा अपनाउनुपर्ने र गैसकेपछि पूरा गर्नुपर्ने प्रक्रियाको साथै करियरको कुरामा पनि मेलामा पर्याप्त जानकारी दिन प्रदर्शक र काउन्सिलरहरु सफल भएका छन ।
मेलामा अवलोकनका लागि आएका विद्यार्थीहरुको रुची बढीमा केमा देखियो ?
–नेपाली विद्यार्थीहरुको अहिलेको अष्ट्रेलिया, जापान, अमेरिका, न्यूजिल्याण्ड र इन्डिया गरी पाँच देशमा अत्याधिक रुची भएको देश पाउन सकिन्छ । तैपनी यो मेलामा विद्यार्थी र अभिभावकको माझ करिब ५० भन्दा बढी शैक्षिक गन्तव्यहरुलाई शिक्षण संस्था र शैक्षिक परामर्श दातृहरुले प्रवद्र्धन गर्ने र जानकारी गराउने काम गर्नुभएको छ । विद्यार्थीका लागि धेरै देश नै छनौटमा छन अहिलेबाट श्रीलंकाले पनि आफूलाई शैक्षिक गन्तव्यको रुपमा प्रस्तुत गरेको छ । धेरै नेपाली विद्यार्थीहरुले श्रीलंकाको बारेमा पनि जानकारी पाएका छन । फिलिपिन्स, थाइल्याण्ड, बंगलादेश, युरोपियन कन्ट्रीहरुको बारेमा यो मेलाबाट जानकारी प्रदान गरिएको छ ।

के कारणले अष्ट्रेलिया, जापान, अमेरिका, न्यूजिल्याण्ड र इन्डिया लगायतका देशमा विद्यार्थी आकर्षित भएका हुन ?
–देशै पिच्छे आफ्ना आकर्षणहरु छन । यदि अष्ट्रेलियाको कुरा गर्छौ भने अष्ट्रेलियामा एउटा ट्युसन प्रोटेक्सन स्किम छ । कुनै पनि शिक्षण संस्था बन्द भएमा पनि विद्यार्थीको लगानी डुब्दैन त्यो अर्थमा अष्ट्रेलियाको एजुकेशन सुरक्षित छ । विद्यार्थीहरुलाई कानुनी रुपमा पढाइको पिरेडमा हप्ताको ४० घण्टा र भ्याकेसन टाइममा फुल टाइम काम गर्न दिन्छ । त्यो अर्थमा पार्ट टाइम काम गर्छु, कमाइ गर्छु, आफ्नो खुट्टामा उभिने कोशिश गर्छु या त्यसपछि केही पकेट मनी कमाउछु भन्ने विद्यार्थीहरुका लागि पनि अष्ट्रेलियमा पढाइको दैरानमा एउटा काम गर्न पाउने अवसर भयो । न्यूनतम पारिश्रमिक पनि विश्वमै सबैभन्दा बढी भएको देश हो अष्ट्रेलिया । त्यो अर्थमा थोरै घण्टा काम गर्दैगर्दा पनि राम्रै कमाइ विद्यार्थीले गर्न सक्छन जुन करिब १७ डलरको हाराहारी छ २१ वर्ष उमेर पुगेको विद्यार्थीका लागि । पढाइ पश्चात पनि दुई वर्षदेखि चार वर्षसम्म काम गर्न पाउने अधिकार अष्ट्रेलियाले दिन्छ । जस्तै व्यचलर पढ्ने र मास्टर्स पढ्नेलाई दुई वर्ष, मास्टर्स रिसर्च र एमफिल गर्नेलाई तीन वर्ष र पिएचडी गर्नेलाई चार वर्ष काम गर्न दिने गरेको पाइन्छ । यो अर्थमा भन्नुपर्दा पोष्ट एजुकेसनका अवसरहरुले पनि अष्ट्रेलिया एउटा आकर्षक गन्तव्यको रुपमा अघि देखिएको छ । त्यस्तै जापानमा कानुनी रुपमै सातामा २८ घण्टा काम गर्न छुट दिएको छ, अन्य देशको तुलनामा सस्तो पनि छ । अमेरिकाको कुरा गर्यो भने त्यहाँ प्रशस्त छात्रवृतिहरुको अवसर छ यसरी फरक–फरक देशका फरक विशेषताले विद्यार्थीलाई आकर्षित गरेको छ ।
मेलामा आउने मध्ये धेरैको चाहना पढ्न वा कमाउन विदेश जाने कस्तो देखियो ?
–अवश्य पनि नेपालीहरुको जुन आर्थिक अवस्था छ त्यो हिसाबले हेर्दा कयौँ बेलामा विद्यार्थी अभिभावकहरु आम्दनीलाई हेर्ने गरेको नै पाउँछु । तर पछिल्ला केही वर्षहरुमा अधिकांश विकसित मुलुक जसले विद्यार्थीलाई आकर्षित गर्ने कोशिश गर्छन ती देशहरुले विद्यार्थीहरुलाई पढेमा भविष्यमा अन्य अवसरहरु पनि दिने र राम्रो नपढेमा, भिसाको नियम पूरा नगरेमा, पढाइमा पास नभएमा उनीहरुको लागि भविष्यमा अन्य अवसरहरु नदिने पोलिसीहरुबाट अघि बढीसकेको कारणले अहिले पछिल्लो दिनमा विद्यार्थीहरु विदेश जाँदै गर्दा सजग भएर जान थालेको हामी पाउँछौँ । यद्यपी यहाँ आउने विद्यार्थी र आभिभावकहरु कामका लागि केन्द्रीत भएर आउनु भएन भन्ने चाहिँ होइन । त्यस्ता पनि कयौँ अउनु भयो । र यो हाम्रो मेलाको कोशिश भनेकै सूचित गराउने हो । वास्तवमा हामी काम गर्न हैन पढ्न पठाउँछौँ । पढाइसँगसँगै केही सीमित घण्टा काम गर्न पाउँछन भने त्यो कामहरु कानुनी रुपमा पाउँछन भने कानुनी रुपमा यो आधारबाट पाउँछन भन्ने कुरा विद्यार्थी र अभिभावकलाई जानकारी गराउने काम गछौँ हामी । हाम्रो कोशिश भनेको चाहिँ पढ्नलाई कति लाग्छ ? कसरी जाने ? के गर्दा भिसा पाउन सकिन्छ ? कस्ता नीति नियम पूरा गर्नुपर्ने हुन्छ भन्ने विषय जानकारी गराउने नै हो ।
कतिपय परामर्श दातृहरुले काम पाउने र पैसा धेरै कमाउने लोभ पनि देखाउने गरेका छन नि हैन ?
–विगतमा यो रोगका रुपमा रहेको थियो । तर अहिले हाम्रो प्रयासले त्यस्तो प्रवृति क्रमशः न्यून भएका छन । हामीले अर्थात इक्यानका सदस्यहरुले विशेषतः करिएर काउन्सिल एक्सपेटबाट हामीले परिवर्तन गर्दै छौँ । समय लाग्छ । हामीले अहिले पनि कोही कुनै देश जान्छु भनेर आउनुहुन्छ भने हामी त्यहाँको होल प्रोसेसका बारेमा बताउँछौँ । यसरी करियर काउन्सिल गर्नेक्रम विगतमा भन्दा बढेको छ । अघिल्ला दिनमा जेजति विद्यार्थीहरुलाई सिधै सपना बुन्न सिकाउने प्रवृतिमा सुधार हुन थालेको छ । यो विस्तारै ठीक बाटोमा गइरहेको छ । मेलाको पनि एउटा विशेष कोशिश भनेको चाहिँ यही विषयहरुलाई ठीक बाटोमा ल्याउनु हो । इक्यानले यस्तो गतिबिधिलाई मेला मार्फत मात्र हैन अन्य गतिबिधिबाट पनि निरन्तरता दिनेछ । नेपालमा हामी यो परामर्श दातृहरुलाई करियर काउन्सिलिङको नमुना बनाउने अभियानमा लागि रहेका छौँ ।
११ औँ इक्यान शैक्षिक मेलाको सन्देश के रह्यो ?
–मुख्यतः नेपालीहरुले नेपाल होस वा नेपाल बाहिर होस राम्रो शिक्षाको अवसर पाउनु जरुरी छ । पढ्ने र पढ्न जाने सवालमा पूर्ण जानकारी लिएर मात्र विद्यार्थीहरु जाने परिस्थिति सिर्जना गर्न आवश्यक छ । त्यो भएर हामीले मेला आयोजना गरेका छौँ । आगमी दिनमा पनि निरन्तर रुपमा हाम्रा अफिसहरुबाट हामी त्यही नै कोशिश गर्ने छौँ । आगामी दिनमा आँखा चिम्लेर व्यवसायीको हातमा आफ्नो भविष्य हालिदिनु जरुरी छैन हामीले दिएका सूचनाहरुलाई पनि क्रस भेरिफाइ गर्ने, हामीले दिएको सूचना वास्तविक लागेमात्र अघि बढ्ने, सेवा लिँदै गर्दा पनि शिक्षा मन्त्रालयले व्यवसायी र विद्यार्थीको बीचमा सम्झौता हुनुपर्छ भनेको छ । त्यो सम्झौतामा सेवा सर्तहरुको बारेमा स्पष्ट रुपमा एउटा सम्झौता गरेरमात्र सेवा लिन अनुरोध गर्न चाहन्छु । धेरै विद्यार्थी र अभिभावकहरु यो मेलाबाट लाभान्वित हुनु भयो भन्ने हामीले विश्वास लिएका छौँ । आगमी दिनमा इक्यानका यस्तै गतिबिधिलाई साथ र नजिकबाट नियालिदिनुुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।
प्रकाशित मिति: शनिबार, साउन ७, २०७४