काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन् ।
विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज बिहान आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरू क्रियाशील रहेकोसमेत जानकारी दिए ।
‘मृगौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउनेसमेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नु पर्छ, दुई पटक मृगौला प्रत्यारोपण गराइ सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’ को नारासहित आज नेपाल सहित विश्वभर मृगौलादिवस मनाईँदैछ ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरूलाई ध्यानदिन जरुरी छ’, प्रधानमन्त्रीले भने ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।’ यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनु पर्ने समेत प्रधानमन्त्रीले बताए ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यस सम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । ‘केहीमानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने ।
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारे प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभात फेरीमा पनि सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७