काठमाडौँ -वैज्ञानिकहरुले ब्रह्माण्डको नक्शा बनाउने क्रममा एउटा अपत्यारिलो तथ्य थाहा हुन आएको छ। ब्रह्माण्ड अनन्त छ यसबारे त कसैलाई कसैले भनी राख्नु पर्दैन। यस ब्रह्माण्डमा 'मिल्की वे' जस्ता खर्बौं 'ग्यालेक्सी' छन्। प्रत्येक 'ग्यालेक्सी'मा हाम्रो सूर्य जस्ता खर्बौं तारा छन्। एउटा ताराको परिवारमा, सौर्यमण्डल परिवारमा ग्रह, उपग्रह, वामनग्रह, क्षुद्रग्रह, धूमकेतु जस्ता सदस्यको संख्या करोडौंमा रहेको हुने पनि प्रायः सबैलाई थाहा नै छ।
अनन्त ब्रह्माण्डमा २ खर्बभन्दा बढी 'ग्यालेक्सी' छन। एउटा 'ग्यालेक्सी'मा २ देखि ४ खर्बसम्म तारा हुन्छन्। ताराको आफ्नो सौर्यपरिवारमा करोडौँ खगोलीय पिण्ड 'पृथ्वी लगायतका अन्य ग्रह जस्तै अनेकन ग्रह', 'चन्द्रमा जस्तै अनेकन उपग्रह' लगायतका अन्य करोडौँ पिण्ड हुन्छन्।
२ खर्ब ग्यालेक्सीमा ग्रह - उपग्रह लगायतका अन्य पिण्ड कति हुन्छन् यो बुझ्ने सजिलो तरिका एउटै मात्र छ हामी यसलाई पनि ब्रह्माण्डका भाँति अनन्त भनी यस विषयक जिज्ञासाको पटाक्षेप गर्छौ। हिन्दु धर्मको उद्घोष छ - 'हरि अनन्त हरि कथा अनन्ता' हरि त अनन्त हुन नै, उनका गौरव गाथा पनि अनन्त छन्।
तपाईंले माथि उल्लेख भएका विभिन्न खगोलीय पिण्ड बाहेक एउटा अन्य खगोलीय संरचनाको नाम सुन्नु भएको होला। केही समय पहिला वैज्ञानिकहरुले यसको फोटो सार्वजनिक गरेका थिए। ब्ल्याक होल नामक यस खगोलीय संरचनाका बारे विज्ञान जगतलाई धेरै कुरा अहिलेसम्म पनि थाहा छैनन्। विज्ञान जगतले पहिलो पटक 'ब्ल्याक होल' पत्ता लाएको सय वर्ष पनि पुगेको छैन। सन १९६४ मा 'मिल्की वे' मा रहेको Cygnus x-1 ब्ल्याक होल पत्ता लागेको थियो।
१९६४ मा ब्ल्याक होल पत्ता लागेपछि विज्ञान जगतका धुरन्धरदेखि धुरन्धरसम्मका ख्याति नाम वैज्ञानिकहरुले १४ मार्च १८७९ मा जन्मिएको, बाल्यकालमा सुस्त मनस्थिति रहेको एउटा बालकको खोपडी, त्यसभित्र रहेका न्यूरोन र १८ अप्रिल १९५५ मा चिर निद्रामा लीन भएको एउटा यहूदीको विशेष क्षमतालाई श्रद्धाञ्जली दिदै प्रणाम गर्नु पर्यो।
यिनै व्यक्तिको सम्मानमा बाल - बालिकाहरूको बाल्यकालको सुस्त मनस्थितिलाई यिनकै नामबाट चिनिन्छ- 'आइन्स्टीन सिंड्रोम'। हजुर विज्ञान जगतलाई 'जनरल रिलेटीभिटी थ्योरी' दिने यिनै महान वैज्ञानिक आइन्स्टीनले ब्ल्याकहोलको खोज हुनुभन्दा धेरै पहिला ब्रह्माण्डमा यस्ता पिण्ड हुने दावी गरी दिएका थिए जहाँको गुरुत्वाकर्षण अनन्त हुनसक्छ, जहाँ समयको मान शून्य हुनसक्छ, जहाँ एकपटक पसेर प्रकाशलाई पनि उम्किने अवसर रहन ।
उनको दावी कसले पत्याउनु, कसरी पत्याउनु ! कुनै द्रव्यमान नै नभएको, सेकेन्डमै ३ लाख किमीले गति गर्ने प्रकाश तरङ्गलाई केले र कसरी रोक्नसक्छ ! त्यस बेलाका धेरै वैज्ञानिकलाई लाग्यो ६० वर्ष उमेर काटिसकेका आइन्स्टीनलाई बुढ्यौलीले छोयो र यिनले तथानामका कुरा गर्न थाले। तर केही वैज्ञानिकहरुले आइन्स्टीनले भनेको कुरामा अनुसन्धान जारी राखे र १९६४ मा आएर त्यस्तो पिण्डको बारेमा पत्ता लाए जसको सारा गुण धर्म आइन्स्टीनले भनेझै थियो र यस खगोलीय संरचनालाई नाम दिइयो ब्ल्याकहोल। आइन्स्टीनले भनेको कुरा पत्ता लाएर यी वैज्ञानिक ले पनि नोबेल पुरस्कार पाए।
वैज्ञानिकहरुको मान्यता थियो ब्ल्याकहोलको संख्या बढी हुन्न। एउटा 'ग्यालेक्सी'मा १-२ अथवा २-३ वटा ब्ल्याकहोल हुन्छन्। तर अहिले आएर ब्रह्माण्डको नक्शा बनाउने क्रममा यो विश्वास खण्डित भएको छ। खगोलविदहरुले महाविशाल ब्लैकहोल (सुपरमेसिभ ब्ल्याकहोल्स ) को अहिले सम्मको विस्तृत नक्शा बनाएका छन। नक्शा तयारी भएपछि वैज्ञानिकको अवधारणा महाविशाल ब्ल्याकहोलको संख्या अनुमान गरेभन्दा धेरै बढी रहेको थाहा हुन आएको छ।
'सुपरमेसिभ ब्लैकहोल'को द्रव्यमान हाम्रो सूर्यभन्दा १० अर्ब गुना बढी हुन्छ । 'इन्टरमिडियट ब्ल्याकहोल'को द्रव्यमान पनि सूर्यभन्दा ७ अर्ब गुना बढी हुन्छ। खगोलविदले तैयार पारेको ब्रह्माण्डको नक्शामा 'कालो ब्याकग्राउन्डमा सेतो बिन्दुबाट' 'सुपरमैसिव ब्ल्याकहोल'लाई चिन्हित गरिएको छ। यो नक्शा 'ऐस्ट्रोनोमी एन्ड ऐस्ट्रोफिजिक्स जर्नल'मा छापिएको छ। नक्सामा २५ हज़ार 'सुपरमेसिभ ब्ल्याकहोल' रहेको देखिन्छन्।
खगोलविदहरुले जानकारी गराए अनुसार उनीहरुले तयार पारेको यो ब्रह्माण्डको नक्शा उत्तरी गोलार्द्धको आकाशको ४ प्रतिशत भागको डाटाले मात्रै बनाइएको हो। नक्शा बनाउने अभियानका प्रमुख अनुसन्धानकर्ता फ्रान्चेस्को डि गास्पेरीनका अनुसार उत्तरी गोलार्द्धको आकाशबाट प्राप्त २६५ घण्टाको डाटालाई अनुसन्धान गरी यो नक्शा बनाइएको हो। उनको टोलीले यस कार्यका लागि ५२ वटा 'लो फ्रिक्वेन्सी टेलिस्कोप' बाट प्राप्त डेटा अनुसन्धान गरी यो नक्शा बनाएका थिए।
सम्पूर्ण ब्रह्माण्डको उत्तरी गोलार्द्धको आकाशबाट देखिने ४ प्रतिशत भागको नक्सामै २५ हज़ार 'सुपरमेसिभ ब्ल्याकहोल' देखिनुले वैज्ञानिकहरूलाई अचम्मित बनाएको छ। बांकीको ९६ प्रतिशत भागमा अरु कति ब्ल्याकहोल होलान् अब यसबारे कुनै अनुमान गर्न सकिन्न। के अनन्त ब्रह्माण्डमा ब्ल्याकहोलको संख्या पनि अनन्त नै रहेको छ, हरि अनन्त हरि कथा अनन्ता जस्तै !
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७