काठमाडौँ । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, काठमाडौँमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज विहान काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७