सिन्धुपाल्चोक। रोटरी क्लब अफ मातृभूमि बालुवाटार र रोटर्याट क्लब अफ मातृभूमि बालुवाटार आइओएमको संयुक्त आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडानम्बर पाँच सिन्धुकोट स्वास्थ्य चौकीमा आयोजना गरिएको सो शिविरमा पाँच सय १० जनाले निशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई, टिचिङ अस्पताल काठमाडौँका बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी गौतम लगायत एक दर्जन डाक्टरसहित तीस जनाको टोलीले माघ १७ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरमा तीनसय जनाले इसिजि र एक सय पन्ध्र जनाले इको को सुविधा लिएका थिए भने दुईसयभन्दा बढिले स्त्रीरोग सेवा लिएका थिए ।
शिविरमा सिरियस देखिएका केही स्त्रीरोग र मुटुरोगका बिरामीहरूलाई सेभ द हार्टका अध्यक्ष डा.अनिल भट्टराई र स्त्रीरोगबिज्ञ डा. लक्ष्मी गौतमले काठमाडौँमा ल्याई निशुल्क उपचार गराउने गरि समन्वय गरिएको छ ।
शिविर समापन समारोहमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले नेपालका गाउँहरुमा मुटुरोग सम्बन्धी ज्ञान कम भएर अकालमा ज्यान गुमाउनुपर्ने दुखद अवस्था रहेकोले यस्तो शिविर मार्फत गाउँलेहरूको सेवा गर्न पाउँदा खुशी लागेको वताए । स्त्रीरोग बिज्ञ डा. लक्ष्मी गौतमले अज्ञानता र विवशताले धेरै महिलाहरूमा स्त्रीरोग देखाएकाले अबको यस्तो कार्यक्रमहरुमा स्वास्थ्य जाँचसंगै रोग सम्बन्धि चेतनामूलक कार्यक्रमपनि समाबेश गर्दा अझै फलदायी हुने वताइन।
कार्यक्रमको समापन समारोहमा रोट्रयाट अध्यक्ष डा. यशोदा रिजालले शिवर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै यस्तो कार्यक्रमले आफुहरुलाई अध्ययन र अनुभब दुवै मिलेको जानकारी दिईन । रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष रोटरियन अनुज थापाले रोटरी समाजकै हितमा काम गर्ने संस्था भएकोले गाउँमा यसरी जनस्वास्थ्यमा सेवा गर्न पाउँदा खुशी लागेको वताए । स्थानीयसँग समन्वय गरि धेरै भन्दा धेरैले स्वास्थ्य सेवा लिन सक्ने वातावरण बनाएकोमा वडाअध्यक्ष शुदर्शन लुइँटेल आयोजकलाई धन्यवाद दिएका थिए । रोटरियन नारायण अधिकारीले कार्यक्रमको संयोजन गरेका थिए
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७