ए बुझेर पनि नबुझै गर्ने मनुवाहरु हो सुन,
मेरो अान्दोलन ,
मैले भारी बोक्दिन भन्नेबारे होइन ।
मैले फलाम ठोक्दिन भन्नेबारे पनि होइन ।
मेरो अान्दोलन,
तिम्रो घरमा गिलास माझ्नुपर्छ भनी,
पानी पिउँदिन भन्नेबारे होइन ।
मैले कपडा र जुत्ता सिउदिन भन्नेबारे पनि होइन ।
मेरो अान्दोलन ,
म तिमीहरू सबैको घरभित्र पस्न पाउनुपर्छ भन्नेबारे होइन ।
म मन्दिरमा बसेर खरानी धस्न पाउनुपर्छ भन्नेबारे होइन ।
मेरो अान्दोलन त,
दिनभरि भारी बोकेर पनि
खुल्ला अाकाशमुनि नाम्लो सिरानी हालेर
भोको पेट रात बिताउनुपर्नेबारे हो।
विडम्बना विरुद्धको हो।
मैले जुत्ता र कपडा सिएकै कारण,
समाजले गर्ने विभेद विरुद्धको हो।
मैले फलाम पिटेकै कारण,
समाजले गर्ने अपमान विरुद्धको हो।
मेरो अान्दोलन त,
दलित घरभित्र पस्यो भने,
अशुभ हुन्छ भन्ने सोच विरुद्धको हो।
भान्सामा पाकेको खाना तिमीबाट म अागनको छेउमा ,
अलग्गै बसेर खानुपर्छ भन्ने तिम्रो व्यवहार विरुद्धको हो।
मेरो छोरी तिम्रो घरमा नचल्ने संस्कार विरुद्धको हो।
मेरो अान्दोलन त,
मलाई अछूत भनि तिम्रा भगवानले रचेको सृष्टि विरुद्धको हो।
यसलाई सबैले मान्नुपर्छ भनेर पढाउने धर्मशास्त्र विरुद्धको हो।
मेरो अान्दोलन त,
एउटै कोखबाट जन्मिदा पनि
फरक देख्ने तिम्रो दृष्टि विरुद्धको हो।
त्यसैले ,,,
ए मान्छेलाई मान्छे नगन्ने मान्छेहरु हो,
ए विभेदको खिचडी पकाइराख्ने मान्छेहरु हो,
मेरो कला, गला , सीप र श्रम चल्छ तिमीलाई ,
मेरो रगत, पसिना र पैसा चल्छ तिमीलाई ,
तर म तिम्रो जीवनमा कहिल्यै चल्न सकिन।।
त्यसैले ,,
विचार गर तिमीहरुले,
अब पनि मेरो हातको पानी चलेन भने,
सम्झ तिमीहरूको जिन्दगी यति सजिलोसँग चल्ने छैन।
किनकि तिम्रो विभेदको जन्जालले मलाई ,
मेरा सबै काम काज ठप्प गराउन बाध्य गरायो भने,
तिमीले सोचेको जस्तो सजिलो छैन।
मन समाएकोछु, धन समाएको छैन।
तिमीसँग युद्ध लड्न कुनै हतियार पनि समाएको छैन ।
किनकि तिमी र म बाँच्ने यही समाज हो भन्ने म सोच्दछु।
त्यसकारण
याद राख,,,,,,,
विभेदको जन्जिर जबरजस्ती तोड्न नपरोस् ।
घन समाई हामीबिचको सम्बन्ध छोड्न नपरोस् ।
मेरो यो निर्दोष कलमको सहाराले ,
विभेदको ज्वालामुखि फोड्न नपरोस् ।
अब त बुझ्यौ होला,,,,,,,,
अझैपनि शान्तिपूर्वक भन्दैछु म,
मेरो अान्दोलन त,,,
म मान्छेसरह जीउन पाउनुपर्छ भन्नेबारे हो।
म मान्छेसरह जीउन पाउनुपर्छ भन्नेबारे हो।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७