प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम नयाँ संविधान माथिको प्रहार भएको बिभिन्न बुद्धिजीवी संस्थाले जनाएका छन् ।प्रधानमन्त्रीको कदम विरुद्ध मंगलबार संयुक्त विज्ञप्त जारी गर्दै नेपाल बुद्धिजीवी संगठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले प्रधानमन्त्रीको कदम लोकतान्त्रिक प्रणालीको बर्खिलाप भएको बताएका हुन ।
विज्ञप्तिमा प्रधानमन्त्रीको कदमलाई संविधानमै हुँदै नभएको अधिकार प्रयोग गरिएको बताउँदै यो कदम लोकतन्त्र माथीको प्रहार र देशलाई अनिश्चयको भुमरीमा धकेल्ने योजनाबद्ध षड्यन्त्र भनिएको छ । प्रतिनिधि सभाले सरकार दिन सक्ने सम्भावना बाकि रहँदा रहदै प्रधानमन्त्री केपी ओली संविधानले दिएको बाटो भन्दा पनि स्वेच्छाचारी रुपमा अघि बढेको विज्ञप्तिमा आरोप लगाइएको छ ।
आर्थिक विकास र समृद्धि हासिल गर्ने राष्ट्रिय दायित्व बिर्सिएर गरेको यस प्रकारको अलोकतान्त्रिक कदमले मुलुक लाई दुर्घटनामा लैजाने सङ्गठनहरूको विश्वास रहेको छ । विज्ञप्तिमा नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक डा.दिनेशचन्द्र देवकोटा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घका संयोजक कृष्ण शर्माले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७