काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
बैंकको अध्यक्ष बनाउने तयारीका साथ सरकारले उनलाई सञ्चालक नियुक्त गरेको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण अध्यक्ष बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि उनी अध्यक्ष बन्न पाएनन् ।
अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा धनीराम शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएका हुन्। शर्माले यसअघि पनि पौडेलनिकट रहेर काम गर्दै आएका थिए।
‘जुन जिम्मेवारी दिनका लागि मलाई त्यहाँ लगिएको थियो, त्यो जिम्मेवारीको औचित्य सकिएपछि मैले राजीनामा पत्र बुझाएको हुँ’ कोइरालाले भने।
सञ्चालक समितिको सदस्यका लागि आफूले मरिहत्ते गरेको नभई आफ्नो क्षमता, कौशलता, व्यवस्थापकीय ज्ञानका कारण तत्कालीन अर्थमन्त्री खतिवडाले विश्वास गरेको उनले बताए। सञ्चालक समितिको सदस्य भएपछि आफू दुई पटक मात्रै वाणिज्य बैंकको केन्द्रीय कार्यालय गएको उनले बताए
अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेका कोइरालाले अर्थमन्त्रीलाई सम्वोधन गर्दै राजीनामा बुझाएका छन् । अर्थमन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार उनको राजीनामा आजै स्वीकृत हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७