काठमाडौँ -उत्तर कोरियाको सरकारी मिडियाले किम जोङ्ग उनले कूटनीतिक सम्बन्ध बिस्तार गर्नेबारे कुरा गरेको र अन्य कोरियाली सम्बन्धमाथि नयाँ व्यवहार अपनाउने जानकारी दिएको छ । अमेरिकाका नयाँ राष्ट्रपतिको शपथ समारोहभन्दा दुई हप्ता अघि उनले पार्टी बैठकको आयोजना गरे ।
सत्तारुढ वर्कर्स पार्टीको आठौं बैठक यस्तो समयमा आयोजना गरिएको छ जब अमेरिकाको प्रतिबन्धबाट राहतको बदलामा उत्तर कोरियाको परमाण र मिसाइल कार्यक्रम बन्द गर्ने कुराकानी लामो समयसम्म अड्किएको छ ।
सरकारी मिडिया केसीएनएका अनुसार उक्त बैठकको तेस्रो दिन अर्थात् बिहिबार किम जोङ्ग उनले दक्षिण कोरियासँगको सम्बन्धलाई अहिलेको परिस्थिती र फेरिएको समयको हिसाबले बनाउनुपर्ने मुद्दा उठाए र विदेशी नीतिबारे चर्चा गरे ।
केसीएनएका अनुसार किमले उनको पार्टीको नीति र दिशा विदेशी सम्बन्धलाई बढाउने र विकसित गर्ने कुरामा केन्द्रीत हुने घोषणा गरेका छन् । यस्तै बाइडेनमाथि उत्तर कोरिया र अमेरिकाबीच चलिरहेको गतिरोध तोड्ने जिम्मेवारी छ । सन् २०१९ मा राष्ट्रपति डोनल्ड ट्रम्प र किम जोङ्ग उनबीच दोस्रो शिखर वार्ता कुनै सम्झौतामा पुग्न सकेको थिएन ।
सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक यांग मू–जिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले दिएको जानकारी अनुसार किम दक्षिण कोरिया र अमेरिकाको सम्बन्धमा अत्यधिक सक्रिय भूमिका निभाउने कोसिस गरिरहेका थिए साथै सन् २०१७ मा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको (आइसीबीएम) सफल परीक्षण र ट्रम्पसँगका शिखर सम्मेलनका कारण उनी आत्मविश्वासले भरिएका थिए । यांगले भने, ‘यस्तो लाग्छ कि हाल उनी बाइडेनको सरकारसँग कसैगरी सम्बन्ध स्थापित गर्ने बारे विचार गरिरहेका छन् ।’
सन् २०१८ मा परमाणु र आइसीबीएम परीक्षणमाथि आफैंले रोक लगाएपश्चात् पनि उत्तर कोरियाले आफ्नो हतियार बढाउन जारी राखे र अक्टोबरको परेडमा आफ्नो सबैभन्दा ठूलो आइसीबीएम पेश गरे ।
बुधबार किमले सैन्य क्षमतालाई उच्च स्तरमा लैजाने कुरा गरेका छन् । सन् २०१८ को शिखर सम्मेलनको क्रममा अन्तर कोरियाली सम्बन्धमा केही हदसम्म बढोत्तरी देख्न पाइएको थियो तर परमाणु वार्ता ठप्प हुँदा सम्बन्धमा पुनः तिक्तता आएको थियो ।
सोलका युनिफिकेशन मिनिस्ट्रीका एक अधिकारीका अनुसार उत्तर कोरियाले ‘दक्षिण कोरिया मामिला’ भन्ने शब्द पहिलो पटक प्रयोग गरेको थियो । यसलाई साधारणतया उत्तर–दक्षिण सम्बन्ध भनिन्थ्यो ।किमले समाजवादी संस्कृति अभियानमा ‘एक नयाँ स्वर्ण युग’ सुरु गर्ने तरिकामाथि पनि चर्चा गरे ।
प्योंगयांगले बाहिरी सुचनामाथिको प्रतिबन्ध थप बढाइदिएको छ । गत महिना एक नयाँ कानून बनाएर यस्ता विदेशी सामग्रीमाथि प्रतिबन्ध लगाइएको थियो जुन प्रतिक्रियावादी विचार पैदा गर्न सक्छन् ।
केसीएनएका अनुसार किमले ‘सामाजिक जीवनका सबै क्षेत्रमा आफ्नो सम्पूर्ण र क्रान्तिकारी जीवनशैली स्थापित गर्ने र गैर समाजवादी तत्वलाई पूर्ण रुपमा समाप्त गर्न आह्वान गरे ।’बीबीसी
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७